वीरगञ्ज, साउन १७ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव, उनका चालक, पिएसओसहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
नारायणी अस्पतालको पिसिआर प्रयोगशालामा गरिएका परिक्षणहरुको शुक्रबार राती सार्वजनिक गरिएका परिक्षण रिर्पोटमा पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित साँसद प्रदीप यादव , उनका चालक , पिएसओ सहित थप ६४ जनामा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि भएका मध्ये एक पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य ( साँसद ) प्रदीप यादव , सांसद् यादवका निजि ड्राइभर र पीएसओ समेत रहेका छन् । साँसद यादवले आफू कोरोना संक्रमित भएको पुष्टि भएपछि घरमा नै आईसोलेसनमा बसेको र कुनै प्रकारका लक्षण नरहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो ।
त्यस्तै संक्रमण पुष्टि हुनेमा नारायणी अस्पतालकै एक डाक्टर र एक जना पारामेडिक स्टाफ रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले गोरखापत्रलाई बताउनुभयो ।
संक्रमित हुनेमा १५ देखि ६८ वर्ष उमेर समूहका ३ महिला र ६१ पुरुष गरी ६४ जना रहेको उहाँले जानकारी दिनुभयो ।
वीरगञ्ज मिना बजार गहवा क्षेत्रबाट मात्र ३० घरभन्दा बढी र वीरगञ्ज महानगरपालिका वडा नं. ६ का २२ जना र वडा नं. ८ का ११ जना रहेको बताईएको छ ।
यसअघि वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीलाई कोरोना संक्रमण पुष्टि भई सकेको छ भने पर्सा जिल्लामा संक्रमितको सख्या ४६२ पुगेको छ । पर्सा जिल्लामा १३ संक्रमितको मृत्यु भईसकेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बास्नेतले जानकारी दिनुभयो ।
अझै एक परिवार एक पिसिआर परिक्षण (मास टेस्टिङ्ग) योजना अनुरुप संक्रलन गरिएका, संक्रमितको कन्ट्याक्ट टेसिङ्गमा परेकाहरुबाट संकलन गरिएको करिब १४ सय स्बावको नमूना परिक्षण गर्न बाँकी नै रहेको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिनुभयो ।
पछिल्ला दिनमा परिक्षणको दायरा बढाउदै लगिएकाले संक्रमित बढ्दै गएका हुन् । दैनिक मास टेस्टिङ्गका लागि महानगर क्षेत्रभित्र तीन देखि चार स्थानमा स्बाव संकलन केन्द्र खडा गरी स्बाव संकलन गर्ने कार्य भईरहेको छ ।