मन्त्री खड्काद्वारा महाकाली सिँचाइ आयोजनाको नहर अवलोकन

  २१ घण्टा अगाडि

काठमाडौँ, १३ साउनः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले सोमबार कञ्चनपुरमा महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै आयोजना समयमा सम्पन्न गर्न सरकार गम्भीर रहेको बताउनुभयो ।

मन्त्री खड्काले आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेकाले भन्दै तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभयो । उहाँले निरीक्षणका क्रममा महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना भएको बताउनुभयो । “किसानको खेतमा पानी पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ, कुनै कमजोरी हुन दिइने छैन”, मन्त्री खड्काले भन्नुभयो ।

राष्ट्रिय गौरवको आयोजनालाई समयमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

टनकपुर ब्यारेजमार्फत प्राप्त पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको उक्त आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनबस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ ।

हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ भने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ । आयोजनाको समग्र भौतिक प्रगति हाल २४ दशमलव २२ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३ दशमलव ९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको आयोजना कार्यालयले जनाएको छ । मन्त्री खड्काले महाकाली सिँचाइ आयोजनाजस्ता योजनाले स्थानीय उत्पादन क्षमतामा वृद्धि गरी राष्ट्रिय समृद्धिमा महत्त्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

“भौगोलिक दूरी, ढिलासुस्ती वा प्रविधिगत चुनौतीले हामीलाई रोक्न सक्दैन, हामी योजनाबद्ध ढङ्गले अघि बढेर लक्ष्यमा पुग्नुपर्छ”, उहाँले भन्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

तपाईको प्रतिक्रिया