साझाखबर, २३ असार । चीनको सिचाङ स्वायत्त प्रदेशस्थित ल्हासामा रहेको नेपाली महावाणिज्यदूतावासका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले आइतबार नेपालतर्फ हुम्ला जिल्ला र चीनतर्फ सिचाङ स्वायत्त क्षेत्रको फुलान जोड्ने हिल्सा सीमा नाकाको स्थलगत निरीक्षण गरी सम्बद्ध अधिकारीहरूसॅग छलफल समेत गरेका छन् ।
चिनियाॅ अध्यागमन, भन्सार, प्रहरी र पोर्ट व्यवस्थापन अधिकारी एवम् नेपालका सुरक्षा निकाय र भन्सारका अधिकारीहरूसॅगको छलफलमा अधिकारीहरूले सो नाकाको प्रभावकारी संचालनका निम्ति चीन सरकारले भरखरै निर्माण सम्पन्न गरेको मितेरी पुलको नेपालतर्फको पहुॅच मार्ग तत्काल निर्माण गर्नु पर्ने बताए ।

सो अवसरमा महावाणिज्यदूतसमक्ष नेपाली अधिकारीहरूले सीमा सहजीकरण र स्थानीय नेपाली अधिकारीहरूलाई पहिले झैं कैलाश मानसरोवरसम्म सहज यात्राका लागि सहजीकरण गरिदिन अनुरोध गरेका थिए। दुवै पक्षसॅगको छलफलमा महावाणिज्यदूतले सीमाको प्रभावकारी व्यवस्थापनका लागि आफ्नातर्फबाट अधिकतम पहल गर्ने बताए ।
महावाणिज्यदूत निरौलाले चीन सरकारले फुलान शहरमा निर्माण गरेर नेपाली समुदायलाई व्यवसायका लागि सहुलियत दरमा उपलब्ध गराएको व्यापारिक केन्द्रको समेत अवलोकन गरी नेपाली व्यवसायीहरूसॅग अन्तर्क्रिया समेत गरेका छन् । उक्त बजारमा हुम्ला र सीमामा रहेका अन्य जिल्लाका गरी २ सयको हाराहारी नेपाली व्यवसायी व्यवसाय गरिरहेका छन् ।
छलफलमा नेपाली व्यवसायीहरूले चीन सरकारले नयाॅ पूर्वाधार निर्माण भएपछि आफूलाई सहज भएको र व्यापार पनि बढेको बताए ।






