एनपिएल सिजन–३ : नेतृत्व र प्रदर्शनमा कप्तानहरूको प्रतिस्पर्धा

  ८ मिनेट अगाडि

काठमाडौँ, २ मङ्सिर : तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिता अन्तिम चरणमा पुगेको छ ।

उपाधि विजेताको टुङ्गो लाग्न अब तीन खेल बाँकी छन् । प्रतियोगितामा सहभागी टोलीका कप्तानको व्यक्तिगत प्रदर्शन हेर्दा सुदूरपश्चिम रोयल्सका दीपेन्द्रसिंह ऐरी सफल देखिएका छन् ।

ऐरीले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा प्रभावशाली प्रदर्शन गर्दै सुदूरपश्चिमलाई प्लेअफसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । उनले आठ खेलमा २०२ रन बनाएका छन् । यस क्रममा तीन अर्धशतक प्रहार गरेका उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा तेस्रो स्थानमा छन् ।

बलिङतर्फ उनले पाँच विकेट लिएका छन् । पहिलो संस्करणको एनपीएलमा पनि उत्कृष्ट प्रदर्शन गरेका ऐरीले कार पुरस्कार जितेका थिए । यस संस्करणमा पनि उनको प्रदर्शनले उक्त पुरस्कार जित्ने सम्भावना बलियो बनाएको छ ।

लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन पनि सन्तोषजनक छ । उनको नेतृत्वमा लुम्बिनी फाइनलमा पुगेको छ । रोहितले सात खेलमा १२१ रन बनाउनुका साथै चार विकेट लिएका छन् । उनले गत संस्करणमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै कार पुरस्कार जितेका थिए ।

काठमाडौँ गोर्खाजका कप्तान करण केसीले पनि यस संस्करणमा राम्रो प्रदर्शन गरेका छन् । उनको नेतृत्वमा टोलीले प्लेअफमा स्थान बनाएको छ । करणले सात खेलमा आठ विकेट लिनुका साथै ८९ रन बनाएका छन् ।

चितवन राइनोजका कप्तान जिम्बाम्वेका अलराउन्डर सिकन्दर रजाको व्यक्तिगत प्रदर्शन भने अपेक्षाअनुसार हुनसकेको छैन । उनको नेतृत्वमा चितवन प्लेअफमा पुगे पनि उनले पाँच खेलमा ५६ रनमात्र बनाएका छन् । बलिङतर्फ उनले पाँच विकेट लिएका छन् ।

कर्णाली याक्सले यस संस्करणमा सुरुआती खेलमा सोमपाल कामी र लिग चरणको अन्त्यतिर डेभिड मिलरलाई कप्तानको जिम्मेवारी दिएको थियो । सोमपालले सात खेलमा एक अर्धशतकसहित १२५ रन बनाएका छन् । बलिङतर्फ उनले ८.९० को इकोनोमी रेटमा १० विकेट लिएका छन् ।

त्यस्तै, मिलरले कर्णालीका लागि चार खेलमा एक अर्धशतकको मद्दतमा ११० रन बनाएका छन् । यस संस्करणमा उनको उच्च स्कोर अविजितको ९३ रन हो । मिलरले पहिलोपटक एनपीएल खेलेका हुन् ।

विराटनगर किङ्सका कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोलीको प्रदर्शन उतारचढावपूर्ण रह्यो । विराटनगर प्लेअफमा पुग्न सकेन । सन्दीपले सात खेलमा सात विकेटमात्र लिए । पाँच खेलमा उनी विकेटविहीन रहे । ब्याटिङतर्फ पनि उनको प्रदर्शन उल्लेखनीय हुन सकेन ।

पोखरा एभेन्जर्सले सुरुआती खेलमा कुशल भुर्तेललाई कप्तान बनाएको थियो । टोलीको लगातार खराब प्रदर्शनपछि लिग चरणको अन्त्यतिर श्रीलङ्काका अलराउन्डर चमिका करुणारत्नेलाई कप्तानीको जिम्मेवारी दिइयो ।

कुशलले सात खेलमा दुई अर्धशतकसहित २३५ रन बनाएका छन् । बलिङतर्फ उनले छ विकेट लिएका छन् । त्यस्तै, करुणारत्नेले छ खेलमा ८५ रन बनाउनुका साथै चार विकेट लिएका छन् ।

जनकपुर बोल्ट्सले यस संस्करणमा अमेरिकाका अलराउन्डर हरमित सिंहलाई कप्तान बनाएको थियो । उनको नेतृत्वमा जनकपुर अङ्कतालिकाको पुछारमा रह्यो । यद्यपि, व्यक्तिगत रूपमा हरमितले बलिङमा राम्रो प्रदर्शन गरे । उनले सात खेलमा ११ विकेट लिनुका साथै ९० रन बनाएका छन् ।

एनपिएल : ‘एलिमिनेटर’मा आज काठमाडौँ र चितवन भिड्दै
तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आज हुने ‘एलिमिनेटर’ खेलमा काठमाडौँ गोर्खाज र चितवन राइनोज भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा अपराह्न ५:०० बजे सुरु हुने खेलको विजेता टोलीले क्वालिफायर–२ मा स्थान बनाउनेछ । उक्त खेलमा विजेताले क्वालिफायर–१ मा पराजित सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम मङ्गलबार भएको क्वालिफायर–१ मा लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएको थियो ।

आजको खेलमा पराजित हुने टोली भने प्रतियोगिताबाट बाहिरिनेछ । जारी प्रतियोगितामा काठमाडौँले लिग चरणका सात खेलमध्ये चारमा जित र तीनमा हार व्यहोरेको थियो ।

चितवनले सात खेलमध्ये तीनमा जित, तीनमा हार र एक खेलमा वर्षाका कारण अङ्क बाँडेको थियो । लिग चरणमा यी दुई टोलीबीच भएको पहिलो भेटमा काठमाडौँले चितवनलाई १० रनले पराजित गरेको थियो ।

पहिलो खेलमा बेहोरेको हारको बदला लिँदै क्वालिफायर–२ मा पुग्ने लक्ष्यसहित चितवन मैदान उत्रनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँ भने चितवनविरुद्धको जितलाई निरन्तरता दिने योजनामा हुने राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया