काठमाडौँ, २६ वैशाख : नेपाल भलिबल सङ्घको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ ।
प्रतियोगिता आगामी जेठ ८ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । नियमित रूपमा प्रतियोगिता हुँदै आएको काठमाडौँको दशरथ रङ्गशालास्थित कभर्डहलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो ।
लिगमा महिलातर्फ छ र पुरूषतर्फ आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिपटप न्यू डायमन्ड युथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् ।
दुवैतर्फका विजेता टोलीले रु आठ लाख, उपविजेताले रु चार लाख र तेस्रो हुने टोलीले रु दुई लाख प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार पाउँदा विधागत उत्कृष्टमा रु २५–२५ हजार राखिएको छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा हरेक टिमले तीन विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ ।