राष्ट्रिय हक्की प्रतियोगितामा आर्मीको दुई जित

  ११ घण्टा अगाडि

काठमाडौँ, १७ वैशाख : विभागीय टोली त्रिभुवन आर्मी क्लबले रााष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिताको पहिलो दिन आज नै दुई सफलता प्राप्त गरेको छ ।

नेपाल हक्की सङ्घको आयोजनामा ललितपुरको च्यासल फुटबल मैदानमा आर्मीको पुरुष र महिला दुवै टोलीले विजयी सुरुआत गरेका हुन् । पुरुषतर्फ समूह ‘ए’ मा रहेको आर्मीले गण्डकी प्रदेशमाथि ३–० गोलको जित निकाल्दै सुखद सुरुआत गरेको हो । आर्मीको जितमा प्रदीप राजवंशी, काशीराज राई र देवसिंह धामीले गोल गरे । आर्मीका रोशन चौधरी प्लेअर अफ दी म्याच भए ।

लिगकम नकआउटका आधारमा भएको यस समूहमा आर्मी र गण्डकीसँगै मधेस र कोशी प्रदेश छन् । समूह ‘बी’ मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, एपिएफ र बागमती छन् । एपिएफ हक्कीमा नयाँ टिम हो ।

समूह ‘बी’ पुलिसले पनि कर्णाली प्रदेशलाई ९–० ले हराउँदै सुखद सुरुआत गरेको छ । पुलिसको जितमा आयुस शाह र सुरेशप्रसाद जोशीले दुई तथा शङ्कर घर्तीमगर, नवराज खत्री, सुरज बोहोरा, काशीराम खत्री र अमित ओझाले समान एक गोल गरे । दुई गोल गरेका आयुश प्लेअर अफ दी म्याचसमेत भए ।

महिलामा भने नेपाल आर्मी, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशमात्र सहभागी छन् । यस प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा हुँदैछ । राउन्ड रोविन लिगपछि शीर्ष दुई स्थानमा रहने टिमबीच उपाधि भिडन्त हुनेछ । यसमा आर्मीले पहिलो खेलमा मधेस प्रदेशमाथि ७–० गोलको रबाफिलो जित निकालेको छ । दुई खेलाडी सीमा खड्का र कमला चन्दले ह्याट्रिक पूरा गरेपछि आमीले सहज जित दर्ता ग-यो । निलिमा पाण्डेका नाममा एक गोल रह्यो ।

पुरुष तथा महिला दुवै प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

तपाईको प्रतिक्रिया