प्रधानमन्त्री प्रचण्ड चीनको छेन्दुबाट नेपाल प्रस्थान

  असोज १३, २०८०

छेन्दु (चीन), १३ असोज : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीनको औपचारिक भ्रमण सकेर अहिले छेन्दुबाट नेपाल फर्किनु भएको छ । 

उहाँलाई सिचुवान प्रान्तका  उप गभर्नर याङ जिङपिङ, नेपालका लागि चिनियाँ राजदुत, बेइजिङ र सिचुवानका विदेश मामिला कार्यालयका उच्चपदस्थ अधिकारीहरुले छेन्दु विमानस्थलबाट बिदाइ गर्नुभएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिका र चीनको औपचारिक भ्रमण सकेर आज (शनिबार) स्वदेश फर्कनु हुने भएको छ । आठ दिनको चीन भ्रमण सकेर उहाँ स्वदेश फर्कन लाग्नुभएको हो ।

संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन प्रधानमन्त्री ‘प्रचण्ड’ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ ३० गते अमेरिका प्रस्थान गर्नुभएको थियो । 

संयुक्त राष्ट्रसङ्घको न्युयोर्कस्थित मुख्यालयमा चलेको महासभाको आम बहस, जलवायु सम्मेलनलगायत विविध सत्रमा नेपाल सरकारका तर्फबाट उहाँले सम्बोधन गर्नुभयो । 

न्युयोर्कमा रहँदा उहाँले अमेरिकाका राष्ट्रपति जो बाइडेनसँग विशेष भेटवार्ता गर्नुभएको थियो । साथै अन्य मुलुकका समकक्षीसँग पनि द्विपक्षीय भेटवार्ता गर्नुभयो । 

प्रधानमन्त्री ‘प्रचण्ड’ अमेरिकाबाट सिधै छिमेकी मुलुक चीनको औपचारिक भ्रमणका लागि असोज ५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

चीनमा रहँदा उहाँले चीनका राष्ट्रपति सी चिनफिङसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुभयो । सो क्रममा उहाँले चीनमा भएको एसियाली खेलकुदलगायत विविध समारोहमा सहभागिता जनाउनुभएको थियो । 

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले चीनका प्रधानमन्त्री ली छ्याङसँग राजधानी बेइजिङमा नेपाली प्रतिनिधिमण्डलसहित उच्चस्तरीय वार्ता गर्नुभयो । सोक्रममा दुई देशबिच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । 

उहाँ चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणपछि शनिबार स्वदेश फर्कन लाग्नुभएको प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै गोरखापत्र अनलाइनले जनाएको छ ।

तपाईको प्रतिक्रिया