एभीएमका रसिन र इभानालाई यु–२१ टेबलटेनिसमा स्वर्ण

  ६ घण्टा अगाडि

काठमाडौँ, २८ असोज : एभीएम टेबलटेनिस क्लबका रसिन महर्जन र इभाना थापाले नेपाल युथ टेबलटेनिस च्याम्पियनसिपको यु–२१ एकलमा स्वर्णपदक जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आज सम्पन्न प्रतियोगिताको यु–२१ ब्वाइज एकलमा रसिन र गल्र्स एकलमा इभानाले स्वर्ण जितेका हुन् ।

यु–२१ ब्वाइज एकलमा नेपाल प्रहरीका गनन्जय दाहाल दोस्रो तथा भिजन टेबलटेनिस क्लबका समिर खत्री र यल टेबलटेनिसका रिजन शाक्य तेस्रो भए । यु–२१ गल्र्स एकलमा एभीएमकी वियंका राई दोस्रो तथा सोही क्लबका आस्मा पहरी र साइरा शाक्य तेस्रो भए ।

नेपाल टेबलटेनिस प्रालिद्वारा आयोजित प्रतियोगिताको यु–१७ ब्वाइज एकलमा एभीएमका प्रज्ज्वल भट्टराईले स्वर्ण, यलका रिजन शाक्यले रजत तथा स्ट्याग च्याम्पियन्स टेबलटेनिस क्लबका निश्चल थापा र यलका रिभानमुनि वज्राचार्यले कास्य पदक जितेका छन् । ।

दुईदिने प्रतियोगितामा छ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । यसअघि यु–१३ र यु–१७ गल्र्स एकलमा साइरा शाक्य तथा यु–१३ ब्वाइज एकलमा रिभानमुनि वज्राचार्यले स्वर्ण जितेका थिए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठलगायत पदाधिकारीले पुरस्कार प्रदान गर्नुभएको राससमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया