कांग्रेसले आगामी चुनावमा कसैसँग तालमेल गर्दैन : महामन्त्री थापा

  जेठ ३०, २०८०

मकवानपुर, ३० जेठ : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी चुनावमा कांग्रसले कुनै पनि पार्टीसँग तालमेल नगर्ने बताउनुभएको छ ।

कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं २ र प्रदेशसभा–२ को संयुक्त आयोजनामा सोमबार हेटौँडामा भएको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महामन्त्री थापाले कांग्रेस विचारप्रधान पार्टी भएकाले बरु सरकार छाड्नुपरे छाड्ने तर, कांग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

साथै उहाँले त्यसलाई स्थापित गरिनुपर्नेमा जोड दिनुभयो । चुनावअघि नै गठबन्धन गर्दा पार्टीप्रतिको विश्वास डगमगाउने अवस्थालाई मध्यनजर गर्नुहुँदै जनताको निराशालाई चिर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले आम नागरिकमा राजनीतिप्रति वितृष्णा जागेको, आत्मविश्वास र आशा गुमाइरहेको भन्दै आफ्नो पार्टीले जनताको भावनामा आँच नआउने गरी काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कांग्रेस एकजुट भएर जनताको हितमा लाग्नुको विकल्प नभएको बताउनुभयो । उहाँले नागरिकमा छाएको निराशा चिर्न काम गरेर देखाउनुपर्नेमा जोड दिनुभयो ।
रासस

तपाईको प्रतिक्रिया