मनाङ, १९ वैशाख : पशु स्वास्थ्य तथा बाँझोपन निवारण गर्ने उद्देश्यले भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मनाङले घर घरमा सेवा दिन थालेको छ । विज्ञ केन्द्रले यही वैशाख १५ देखि १७ गतेसम्म घर–घरमा पुगेर पशु स्वास्थ्य सेवाका लागि शिविरमार्फत सेवा दिएको हो ।
जिल्लाको नासों, चामे र मनाङ ङिस्याङ गाउँपालिकाका पशुपालक किसानको घरमा पुगेर पशु स्वास्थ्य सेवा दिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मनाङका प्रमुख नारायण कुसुमले जानकारी दिनुभयो । उहाँका अनुसार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजना तथा राष्ट्रिय पशु प्रजनन कार्यालयको प्राविधिक सहयोग तथा स्थानीय तहको समन्वयमा सेवा प्रदान गरिएको हो ।
नासों गाउँपालिकाका ताचै, तिल्चे, ओडार र दानाक्युमा घरदैलोमा नै पुगी पशुको बाँझोपनसम्बन्धी विशेषज्ञ चिकित्सकद्वारा पशु स्वास्थ्यपरीक्षण गरी उपचार र परामर्श दिइएको प्रमुख कुशुमले बताउनुभयो । उहाँका अनुसार ती क्षेत्रका १२ गाईको स्वास्थ्य परीक्षण र निकट भविष्यमा यसलाई कसरी उपचार गर्ने र कुन कुन समय तालिकामा कसरी उपचार गर्ने विषयमा परामर्श दिइएको थियो । गाईको परीक्षण गर्दा फ्लासिड पाठेघर, परसिस्टेण्ट कर्पस लिउटियमबाहेक कुनै पनि पाठेघरसम्बन्धी सङ्क्रमण नभएको र सबै पशुमा सन्तुलित आहाराको कमीका कारण पशु समयमा नब्याउन नसकेको पशु चिकित्सकको भनाइ छ ।
त्यस्तै चामे गाउँपालिकाअन्तर्गत पाँच गाईको परीक्षण गरिएकोमा कुनै पनि पाठेघरसम्बन्धी सङ्क्रमण नभएको र सन्तुलित पशु आहाराको कमीले पशु समयमा साँढे नखोज्ने समस्या देखिएको परीक्षणका क्रममा पाइएको उहाँले जानकारी दिनुभयो । मनाङ ङिस्याङ गाउँपालिकाका पशु प्रजननसम्बन्धी उपचारको लागि किसानको मागअनुसार लुलु गाई र चौंँरीमा प्रजनन सुधारको लागि औषधि वितरण गरिएको प्रमुख कुशुमले बताउनुभयो ।
प्राविधिक परामर्श खास गरी बाँझोपनसम्बन्धी समस्यालाई निराणकरण र न्यूनीकरण गर्न दिइएको समय तालिका अनुसार कार्यान्वयन गरिने उहाँले बताउनुभयो । ६१ किसान परिवारले पालेका तीन सय ७९ पशुको उपचार गरिएको र २५ वटा पशुको स्थलगत रुपमा गोवर परीक्षण गरिएको भेटेरिनरी अस्पतालका प्रमुख कुसुमले बताउनुभयो । यस कार्यक्रमवाट ६१ घरपरिवारले सेवा लिनुभएको जानकारी भएको छ ।
राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख एवं सहसचिव डा जगदीश पाण्डेयले असल र अर्थपूर्ण पशुपालनमा पाँच खम्बे नीति जस्तो पशु आहारा, पशु प्रजनन, पशु स्वास्थ्य, पशु व्यवस्थापन र उत्पादित वस्तुको यथेष्ट बजारलाई विशेष मध्यनजर राखिनुपर्ने बताउनुभयो । “पाँच खम्बे नीतिको उचित तवरबाट कार्यान्वयन गर्न सकिएमा किसानको आयस्तर वृद्धिमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।
रासस






