कास्की, १४ वैशाख : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारको ध्यान अब कृषिमा आधारित साना उद्योग स्थापना गरी स्वरोजगार सिर्जनामा केन्द्रित हुने बताउनुभएको छ ।
प्रदेश प्रमुखबाट आज मुख्यमन्त्रीमा नियुक्त भएसँगै सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले पर्यटन, जलविद्युत् र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “अहिले जमिन बाँझा छन्, घर रित्ता छन्, धेरै युवा विदेश पलायन भएका छन् । हामीले विदेशिएका युवालाई सरकारको तर्फबाट सहयोग
पुग्ने गरी यहीँ प्रदेशभित्र बसेर काम गर्ने र आत्मनिर्भर बन्ने गरी कृषिमा आधारित कार्यक्रम ल्याउँछौँ ।”
नवनियुक्त मुख्यमन्त्री पाण्डेले हाल कायम रहेका सात मन्त्रालयलाई यथावत राख्ने बताउनुभयो । यसअघि गण्डकीमा १२ मन्त्रालय रहेकामा अघिल्लो सरकारले घटाएर मन्त्रालय सातमा झारेको थियो ।
उहाँले मन्त्रिपरिषद्लाई छिट्टै पूर्णता दिने र आफूलाई समर्थन गर्ने सबै दललाई सरकारमा समेत सामेल गर्ने बताउनुभयो । उहाँले वर्तमान सत्ता गठबन्धन संसद्को पूरा कार्यकाल कायम रहने र प्रदेश सरकारको नेतृत्वमा आलोपालो हुने बताउनुभयो ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएका पाण्डेलाई आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको होे । पाण्डेलाई नेपाली कांग्रेसका २७, नेकपा ९माओवादी केन्द्र०का सात र स्वतन्त्र एक गरी ३५ प्रदेशसभा सदस्यको समर्थन छ । यही वैशाख १२ गते प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।
यसअघि मुख्यमन्त्री खगराज अधिकारीले संसद्मा विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको हो । गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले आलोपालो सरकार सञ्चालनको सहमति गरेका छन् । सुरुको पालोमा कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएको हो ।
रासस






