जनकपुरधाम, ८ वैशाख : सरकारी पैसा खर्च गरेर कुनै पार्टीको जिल्ला कार्यालय भवन निर्माण हुँदै छ ।भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमानुहोस् मधेश प्रदेश सरकारको बजेटमा नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन बन्दै छ ।
जनकपुरधामस्थित कांग्रेसको पार्टी कार्यालय परिसरमै भवन निर्माणको आज एक समारोहबीच शिलान्यास गरिएको हो । काँग्रेस नेता विमलेन्द्र निधीले भवनको शिलान्यास गरेका हुन् ।
कांग्रेस पार्टी कार्यालयका लागि आर्थिक वर्ष २०७९र०८० मा तत्कालिन भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले ४० लाख रुपैयाँ विनियोजन गरेको थियो । यादव नेपाली काँग्रेसको तर्फबाट मन्त्री बनेका थिए ।
उक्त मन्त्रालय मातहत रहेको शहरी विकास तथा भवन मिर्माण विभागले काँग्रेस पार्टी कार्यालयको भवन निर्माण गर्न उपभोक्ता समिति बनाएको छ । स्रोतका अनुसार काँग्रेसले आफ्ना पक्कडका व्यक्तिलाई उपभोक्ता समिति बनाएको हो । स्रोतका अनुसार प्रदेश सरकारको बजेटबाट एउटा ब्लकमा साढे दुई तल्ले भवन र अर्को ब्लकमा सभा हल निर्माण गरिनेछ ।






