धनुषा, ६ वैशाख : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले मधेसमा नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ५४औँ स्थापना दिवसका अवसरमा नेविसङ्घको धनुषा जिल्ला कार्यसमितिले आज आयोजना गरेको ‘शिक्षा प्रणालीमा सुधार विषयक’ विचार गोष्ठीमा पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका नेता निधिले मधेस कांग्रेसका लागि आधारभूमि रहेकाले कांग्रेसको अभिभावकत्वबिना सरकार अधुरो रहने बताउनुभयो ।
उहाँले आफ्नै नेतृत्वमा सरकार बनाउने र पाँच वर्षपछि हुने निर्वाचनमा पनि त्यसको तयारीमा जुट्न नेविसङ्घका साथै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । नेता निधिले हालको गठबन्धन अगामी पाँच वर्षसम्म यथावत रहनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो । उहाँले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा तनहुँ १ र चितवन २ मा कांग्रेसका र बारा २ मा गठबन्धनका उम्मेदवार जिताउन नेविसङ्घसहित नेता कार्यकर्तालाई परिचालित हुनसमेत आग्रह गर्नुभयो ।
मुलुकको शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको बताउँदै उहाँले शिक्षा प्रणालीमा सुधार गर्नका लागि प्रधानमन्त्री र शिक्षामन्त्री आफैँ अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । नेता निधिले व्यक्तिवाद, भ्रष्टाचार प्रवृत्तिलाई निमिट्यान्न पार्नका लागि शिक्षाको महत्वपूर्ण भूमिका हुने जिकिर गर्नुभयो । उहाँले दश जोड दुईसम्म निःशुल्क शिक्षा उपलब्ध गराउनुपर्ने भन्दै सीपयुक्त र व्यावहारिक शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । निधिले आजकाल नैतिक शिक्षा नहुनाले सामाजिक मर्यादा बिर्सन थालेको उल्लेख गर्दै विद्यालय तहमा नैतिक शिक्षालाई अनिवार्य बनाउनुपर्ने बताउनुभयो ।
नेता निधिले अहिलेको सरकारले शिक्षा क्षेत्रलाई उच्चतम प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो । निधिले देशमा विश्वविद्यालय थपिनु हुँदैन भन्ने तर्क विचलित र सङ्कुचित मानसिकताको उपज रहेकोसमेत बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालयलाई मातृ वा जननी विश्वविद्यालयका रुपमा राखेर देशभरिमा विभिन्न क्षेत्रका विशेष शिक्षा र अध्यापनका लागि कम्तीमा २५ विश्वविद्यालय स्थापना हुनुपर्दछ ।”
नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ० स्थापना भएको ५४ वर्ष पूरा भएको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरी स्थापनाको स्वर्णजयन्ती मनाइएको हो । विसं २०२७ वैशाख ६ गते काठमाडौँको स्वयम्भूस्थित सत्तलमा नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो । रासस






