सडक खाना महोत्सवमा तीस हजार पर्यटक

  बैशाख ०२, २०८०

दमौली, २ वैशाख : पहाडकी रानी नामले परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा नयाँ वर्षका अवसरमा आयोजित सडक खाना महोत्सवमा ३० हजार पर्यटक पुगेका छन् । चैत ३० गतेदेखि सुरु भएको तीन दिने सडक खाना महोत्सवका अवसरमा बन्दीपुरमा ३० हजार पर्यटक उक्लिएको बन्दीपुर पर्यटन विकास समितिले जनाएको छ । प्रत्येक वर्ष आयोजना हुने कार्यक्रमभन्दा यसपटक नयाँ किसिमले सडक खाना महोत्सव आयोजना गरिएको पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिनुभयो ।

“बिहीबारदेखि सुरु भएको तीन दिने सडक खाना महोत्सवमा ३० हजार भन्दा बढी पर्यटक आउनुभयो, यो पटकको नयाँ वर्ष अरु वर्षभन्दा फरक भयो,” उहाँले भन्नुभयो, “नयाँ वर्षका कारण बन्दीपुरका सबै होटल भरिभराउ भए ।”‘सडकमै खाऔँ स् सडकमा रमाऔँ’ नारासहित आयोजित सडक खाना महोत्सवका अवसरमा बन्दीपुरको स्थानीय कला संस्कृति प्रदर्शन गरिएको थियो । यहाँका नेवार, मगर, गुरुङ, ब्राम्हणलगायत जातजातिका कला संस्कृति प्रदर्शनले महोत्सवमा छुट्टै रौनकता थपेको बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले जानकारी दिनुभयो ।

नयाँ वर्षका अवसरमा बन्दीपुरको टुँडिखेल, मुख्य बजार क्षेत्र लगायतका ठाउँमा पर्यटकको बाक्लो भीड थियो । नयाँ वर्षको पहिलो दिन होटलमा पुग्ने पहिलो पाहुनाले एउटा कोठा रु एकमा पाएका थिए । नयाँ वर्षका अवसरमा जिल्लाका अन्यत्र ठाउँमा कार्यक्रम नभएकाले पनि आन्तरिक पाहुना बन्दीपुर उक्लिएको बन्दीपुर पुग्नुभएका विकास खनालले बताउनुभयो । “नयाँ वर्ष मनाउन पोखरा वा अन्यत्रै जाने प्रचलन रहँदै आएको छ, तर यसपटक तनहुँका मात्र नभइ छिमेकी जिल्लाबाट पनि पाहुना बन्दीपुर आएको पाइयो,” उहाँले भन्नुभयो ।

बन्दीपुरमा विशेषगरी चीन, फ्रान्स, जर्मनबाट विदेशी पर्यटक आउने गरेका छन् । विदेशी पर्यटक यहाँको हावापानी, रहनसहन, रीतिरिवाज र पुरानो घर देखेर आकर्षित हुने गरेको व्यवसायी बताउँछन् । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै ८ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ । प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ« धौलागिरि लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । रासस

तपाईको प्रतिक्रिया