कर्णालीमा प्रशासनिक र वित्तीय सङ्घीयता आउन सकेन : मुख्यमन्त्री शर्मा

  चैत २५, २०७९

कर्णाली, २५ चैत : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीमा वित्तीय एवं प्रशासनिक सङ्घीयता आउन नसकेको बताउनुभएको छ ।

राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठनको प्रथम अधिवेशन उद्घाटनमा मुख्यमन्त्री शर्माले मुलुकमा राजनीतिक सङ्घीयता आए पनि वित्तीय र प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जान नसकेको बताउनुभयो । उहाँले कर्मचारी, बैंक र वित्तीय संस्थामा आज पनि केन्द्रिकृत मानसिकता लाद्ने काम भइरहेको जनाउनुभयो ।

मुख्यमन्त्री शर्माले भन्नुभयो, “कर्मचारीले आफ्नो सेवा सुविधा लिएर प्राप्त जिम्मेवारीअनुसार जनतालाई दिने सेवा गुणस्तरीय, पारदर्शी, चुस्त प्रभावकारी हुनुपर्दछ । सरुवा, बढुवा मात्र नभई जनताको सेवाका लागि सङ्घरसङ्गठनलाई परिचालन गर्नु अहिलेको आवश्यकता पनि हो ।”

आफूलाई जनताको कामदारको रुपमा उभ्याएर कर्णाली प्रदेश सरकारको नेतृत्व गरेको जनाउँदै उहाँले राजनीतिक परिवर्तनबाट व्यवस्थासँगै जनताको अवस्था बदल्न सबै सरोकारवाला र क्षेत्रको त्यतिकै भूमिका रहेको व्यक्त गर्नुभयो । कर्णालीको माटो सुहाउँदो र जनताको आवश्यकतामा आधारित विधेयक ल्याउने भन्दै मुख्यमन्त्री शर्माले बन्ने नीति र कानुन कर्णालीवासीको अपनत्व हुने स्पष्ट पार्नुभयो । रासस

तपाईको प्रतिक्रिया