काठमाडौँ, वैशाख २३ : भारतको सुपौलबाट आएको खाली ट्रकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेकजाँच टोलीले मोरङको रानीबाट एक करोड ९ लाख ७९ हजार ५ सय ३० हजार भारतीय रुपैयाँ बरामद गरेको छ । बरामद रकममध्ये ५ सय दरका २१ हजार ९ सय ५५ थान नोट रहेको छन् ।
भारतको सुपौलबाट आएको डब्लूबी ७३ ई ७६७५ नम्बरको खाली ट्रक खानतलासी गर्दा प्रहरी र सश्त्रको संयुक्त टोलीले केहीबेर अघि कार्टुनमा राखिएको अवस्थामा उक्त रकम बरामद गरेको हो । बरामद रकम गन्ने क्रम जारी रहेकाले अझै बढ्न सक्ने सशस्त्र प्रहरी प्रवक्ता डीआईजी प्रविणकुमार श्रेष्ठले बताए ।
लकडाउनको बेला सीमा नाका सिल भएपनि अत्यावश्यक वस्तुको ढुवानको नाममा उक्त ट्रक भारतबाट भित्रिएको थियो । प्रहरीले ट्रकका चालक र सह-चालकलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ ।
बरामद रकम तस्करले आफ्नो धन्दा चलाउन उक्त रकम भित्र्याएको हुन सक्ने प्रहरीले अधिकारीले जानकारी दिए । यसअघि रक्सौलबाट भित्रिएको इन्धनको ट्यांकरबाट र विराटनगरमै राहतको सामान वितरणका लागि रााखिएको गाडीबाट लागूऔषधसहित मानिस पक्राउ परेको इकान्तिपुर अनलाइनमा उल्लेख छ ।