साता दिनपछि वर्षा हुन सक्छ, त्रसित हुन आवश्यक छैन : मौसमविद्

  कार्तिक ०६, २०८३

काठमाडौँ, ५ कात्तिक : मौसम पूर्वानुमान महाशाखाले आगामी मङ्गलबारदेखि देशका केही भूभागमा वर्षा हुन सक्ने सम्भावना रहे पनि त्रसित नहुन आग्रह गरेको छ ।

महाशाखाका मौसमविद् राजन महर्जनले सामाजिक सञ्जालमा फैलिएको वर्षासम्बन्धी हल्लाका कारण आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार आगामी मङ्गलबारदेखि वर्षा हुन सक्ने भए पनि कुन स्थानमा कति र कति समयसम्म वर्षा हुन्छ भन्ने कुरा अहिले नै निश्चित भइसकेको छैन ।

“आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित छैन,” उहाँले भन्नुभयो । सामाजिक सञ्जालमा सात दिनसम्म वर्षा हुने भन्दै फैलाइएको खबरले विशेषगरी किसान त्रसित देखिएको उहाँको भनाइ छ । मौसमी प्रणाली परिवर्तनशील हुने भएकाले हल्लाको पछि नलाग्न र त्रसित नहुन उहाँले आग्रह गर्नुभएको छ ।

राससका अनुसार, मौसमविद् महर्जनले नेपालको सन्दर्भमा तीन दिनसम्मको मौसम पूर्वानुमान धेरै हदसम्म मिल्ने भए पनि सात दिनसम्मको पूर्वानुमान त्यति भरपर्दो नहुने बताउनुभएको छ । “अब केही दिनपछि आगामी साता हुने वर्षाका बारेमा सूचना सम्प्रेषण गर्नेछौँ । मौसम तथा वर्षाको विषयमा विभागको आधिकारिक सूचनालाई मात्रै विश्वास गर्नुहुन अनुरोध छ,” मौसमविद् महर्जनलाई उद्धृत गर्दै राससले जनाएको छ ।

तपाईको प्रतिक्रिया