पोखरा, ९ चैत : नेपाली सेना पश्चिम पृतना मातहतका सात जिल्लामा स्थायी बसोबास गर्ने भूतपूर्व सैनिकका लागि लक्षित गरी आयोजना भएको भूतपूर्व सैनिक सम्मेलन सुरु भएको छ ।
प्रधानसेनापति प्रभुराम शर्माले यहाँस्थित फूलबारी ब्यारेकमा आज उद्घाटन गर्नुभएको सम्मेलनमा मनाङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा स्थायी बसोबास गर्ने तीन हजार आठ सय ९४ भूपू सैनिकको सहभागीता छ ।
नेपाली सैनिक कल्याणकारी बोर्डको स्थापना भएसँगै निरन्तररुपमा विभिन्न क्षेत्रमा सेनाले भूपू सैनिक सम्मेलन गर्दैआएको छ । हाल निवृत्तिभरणमा राजीनामा स्वीकृति भएका भूपू सैनिकको सङ्ख्या ८१ हजार छ सय ४३ रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । पारिवारिक निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या १५ हजार आठ सय ७२ समेत गरी कूल निवृत्तिभरण उपभोग गर्नेको सङ्ख्या ९७ हजार पाँच सय १५ जना रहेको छ ।
सम्मेलनमा भूपू सैनिकका प्रतिनिधिद्वारा मार्च, झाँकी प्रदर्शन, राष्ट्रिय गीतमा सामूहिक नृत्य, पिटी र सैनिक ब्याण्ड प्रदर्शन, ज्येष्ठ सैनिक सम्मान, ‘ह्वील चियर’ तथा बैसाखी वितरण, चारभन्दा बढी सन्ततिलाई सेनामा प्रवेश गराउने आमा÷बाबुलाई सम्मान, शताब्दी पुरुष÷महिला सम्मान र अन्तक्र्रिया तथा छलफल हुनेछ ।
अवकाश प्राप्त सैनिक एवं पारिवारिक निवृत्तिभरणमा रहेका व्यक्तिप्रति लक्षित सम्मेलनले विभिन्न दर्जा, नियुक्ति, युनिट र स्थानमा तैनाथ रही योगदान पु¥याएका पूर्वसैनिकको पुनर्मिलनको ठूलो अवसर प्रदान गरेको छ । सम्मेलनबाट सैनिक नेतृत्वले विभिन्न स्थानमा पुगेर पूर्वसैनिक एवं तिनका परिवारसँग अन्तक्र्रिया गर्ने हुँदा सेनाले आफ्ना हिताधिकारीको कल्याणका लागि गरिरहेका प्रयासको मूल्याङ्कन तथा भावी योजना तर्जुमा गर्न महत्वपूर्ण सुझाव प्राप्त हुनेछ ।






