गुमेको आँखाको ज्योति फर्कदा दङ्ग

  चैत ०८, २०७९

म्याग्दी, ८ चैत : नेत्रज्योति सङ्घ बेनी र रेडक्रस सोसाइटीले मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आँखा उपचार केन्द्र सञ्चालन गरेका छन् । चार दिनसम्म सञ्चालन भएको निःशुल्क आँखा उपचार शिविर आज सम्पन्न भएको छ ।

हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा नेपाल नेत्रज्योति सङ्घ म्याग्दीले सञ्चालन गरेको शिविरमा ८२ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष अमर बानियाँले जानकारी दिनुभयो । स्थानीय तहसँग समन्वय गरेर वडास्तरमा सञ्चालन गरिएको शिविरमा दुई हजार दुई सयको आँखा परीक्षण गरिएको थियो । “गाउँमा पहिचान भएका मोतियाबिन्दुका बिरामीलाई पोखराबाट चिकित्सक ल्याएर बेनीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाएका हौँ”, उहाँले भन्नुभयो ।

रघुगङ्गा गाउँपालिकाको पाखापानी, मङ्गलाको कुहुँ, बेनी नगरपालिकाको डाँडाखेत, अन्नपूर्णको राम्चे, हिस्तान र शिखमा आँखा उपचार शिविर आयोजना गरेर मोतियाबिन्दुका बिरामी पहिचान गरिएको थियो । हिमालयन आँखा अस्पताल पोखराका डा अञ्जु गुरुङको नेतृत्वमा शिविरका संयोजक सुवास नेपाल, अस्पतालका मीना राई, साधना मजाकोटी, गरिमा लौडारीलगायत स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो ।

शिविरमा आउनुभएका बेनी नगरपालिका–९ घतानका डिलबहादुर विकले दुवै आँखा देख्न छाडेको एक वर्ष भएको बताउनुभयो । बेनीमा निःशुल्क आँखा उपचार शिविरमा ७७ वर्षीय विकको दुवै आँखाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ । “आँखा देख्न नसक्दा घरबाट निस्कन सकेको थिइन, । शल्यक्रियापछि दुवै आँखा देख्ने भए । अब हिँडडुल गर्न तथा आफैँ खाना पकाएर खान सक्छु”, उहाँले भन्नुभयो ।

बेनी नगरपालिका–५ की ७० वर्षीया पार्वती बानियाँले आँखा देख्न छाडेको तीन वर्ष भए पनि मोतियाबिन्दुको शल्यक्रिया गर्नुभएको थिएन । “पोखरा जाने समय र पैसा नहुँदा मोतियाबिन्दुको शल्यक्रिया गर्न सकेको थिइन”, उहाँले भन्नुभयो, “बेनीमा मोतियाबिन्दुको शिविर सञ्चालन भएपछि सस्तोमा शल्यक्रिया गरेर गुमेको ज्योति फर्कियो ।”

तपाईको प्रतिक्रिया