काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मंगलबार दायर गरिएको रिटको पेसी तोकिएको छ ।
प्रचण्डमाथि ५ हजारजनाको हत्या गरेको साबिती बयानलाई आधार बनाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फौजदारी अभियोग माग गरिएको रिटको पेसी बिहीबार तोकिएको हो ।
जनयुद्धमा मारिएकाका आफन्तले रिट दर्ता गराएका हुन् । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसमेत २८ जना छन् । उक्त रिट उपर पहिलो सुनुवाइ २५ गतेलाई तोकिएको छ । राष्ट्रपति चुनावकै दिन सुनुवाइ हुन लागेको हो ।
सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले अधिवक्ता आरणले प्रचण्डविरूद्ध दिएको रिट दर्ता भएको र बिहीबारका लागि पेशी तय भएको जानकारी दिनुभयो।१ माघ २०७६ मा माघीका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले युद्धमा १७ हजार मारिएका र त्यसमध्ये ५ हजार माओवादीले मारेको र त्यसको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए। त्यही अभिव्यक्तिलाई लिएर प्रचण्डविरूद्ध छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै अधिवक्ता आरण र बुढाथोकी रिट लिएर सर्वोच्च गएका थिए।
उनीहरुले ‘प्रचण्ड’विरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतका रजिष्ट्रारले दर्ता गर्न नमिल्ने भन्दै दरपीठ गरिदिएको थियो। त्यसपछि सर्वोच्च प्रशासनको दरपिठ गर्ने निर्णयविरुद्ध अधिवक्ताद्वयले सिधै सर्वोच्चको इजलासमा निवेदन दिएका थिए।
आरणको रिटमा द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति र बुढोथोकीको रिटमा अंगभंग, सम्पत्ति कब्जा र लुटपाटलाई मुद्दा बनाइएको छ ।






