काठमाडौँ, कात्तिक २९ : बागमती सफाइ महाअभियानलाई भारतको आगरामा रहेको अन्तर्राष्ट्रिय मानव मिलन परिवारले सम्मान गरेको छ । विगत १० वर्षदेखि निरन्तर प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा सफाइ अभियान चलाएर जागरण फैल्याएकामा सम्मान गरिएको हो ।
सम्मान पत्रमा नेपाल तपोभूमि, ज्ञानभूमि, बुद्धभूमि र पाशुपत भूमि भएको उल्लेख गरिएको छ । नेपालको राजधानी काठमाडौँको हृदयस्थलमा बग्ने बागमती देशकै एक पहिचान भएको सम्मान पत्रमा लेखिएको छ ।
भगवान् पशुपतिनाथको चरणस्पर्श गरेर बग्ने बागमती नदी विगत केही दशकअघिदेखि अपवित्र र दुर्गन्धित भएकामा यसलाई स्वच्छ एवं पवित्र बनाउने सङ्कल्प गरेर केही सुधार भएको भन्दै सम्मानित गरिएको हो ।
विगत १० वर्षदेखि नदीलाई स्वच्छ बनाउन निरन्तर लागेका सफाइ अभियानकर्मीको पनि सम्मान पत्रमा स्तुतियोग्य काम भनी प्रशंसा गरिएको छ ।
सम्मानपत्र भारतका केन्द्रीय राज्यमन्त्री एसपी सिंह बधेल, उत्तर प्रदेश सरकारको महिला एवं बाल विकास मन्त्री देवी रानी र मानव मिलन परिवारका संस्थापक डा मणिभद्र मुनिजी महाराजले संयुक्त रुपमा सफाइ महाअभियानका तर्फबाट अभियानकर्मी डा राजु अधिकारीलाई दिनुभएको अर्का अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिनुभयो ।






