गठबन्धन ब्यानरका लागि होइन, व्यवस्थाका लागि हो : सञ्चारमन्त्री कार्की

  कार्तिक १८, २०७९

विराटनगर, कात्तिक १८ : सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाम–लोकतान्त्रिक गठबन्धन ब्यानरका लागि नभएर व्यवस्थालाई सुदृढ बनाउनका लागि गठन भएको बताउनुभएको छ ।

आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा सुनसरीको रामधुनी नगरपालिका–४ स्थित लालपुरमा आज आयोजित सभामा संविधानको रक्षा र लोकतन्त्रलाई बलियो बनाउन गठबन्धनको आवश्यकता परेको स्पष्ट पार्नुभयो । उहाँले संविधान जीवन्त दस्तावेज भएको र यसलाई समायनुकूल संशोधन गर्न सकिने बताउनुभयो ।

सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहनुभएका कार्कीले अबको १० वर्षमा नेपाल दक्षिण एसियाको धनी राष्ट्र बन्ने दाबी गर्नुभयो । मन्त्री कार्कीले भन्नुभयो, “जलस्रोत, पर्यटन र कृषिको व्यावसायिकीकरण गरी मुलुकलाई समृद्ध बनाउन सकिन्छ ।” उहाँले विगतमा जनतासँग आफूले गरेको वाचाको ८० प्रतिशत पूरा गरेको दाबी गर्नुभयो । मन्त्री कार्कीले रामधुनीदेखि झुम्कासम्मको नौ किलोमिटर सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाउँदै ऐतिहासिक रामधुनी मन्दिरको पर्यटक आउने सक्ने किसिमको पूर्वाधारको विकास गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया