काठमाडौं, साउन २० : नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले निर्वाचनमा दलहरुबीच गठबन्धन गरिनु संविधान विपरित हुने बताउनुभएको छ । शुक्रबार यहाँ आयोजित एक अन्तरक्रिया कार्यक्रममा नेता रावलले सो कुरा बताउनुभयो ।
“जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत हो” उहाँले भन्नुभयो, “यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहिन, आदर्शहिन र गन्तव्यहिन दिशातर्फ धकेल्छ ।”
आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा संविधानको धारा २६९ को बिरुद्ध रहेको उहाँको भनाइ छ । गठबन्धनले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्ने उहाँले चर्चा गर्नुभयो । “जनताले जसलाई बहुमत दिन्छ त्यसले सरकार चलाउने हो” नेता रावलले थप्नुभयो, “कसैले बहुमत ल्याएन भने समान राजनीतिक दृष्टिकोण, विचार, कार्यक्रम या कतिपय विषयहरुमा समान धारणा भएका राजनीतिक दलहरुले मिलेर संयुक्त सरकार गठन गर्न सकिन्छ ।”






