परराष्ट्रमन्त्रीको चीन भ्रमण : आपसी हितका विषयमा छलफल हुने

  साउन २०, २०७९

काठमाडौँ, साउन २० : परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ गते (अगस्ट ९ देखि ११) सम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्नुहुने भएको छ । उहाँले चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा त्यहाँको भ्रमण गर्न लाग्नुभएको मन्त्रालयले आज जनाएको हो ।

दुबै मन्त्रीहरूले १० अगस्टमा चीनको चिङ्दाओमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रम तय भएको छ । स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले मन्त्री खड्का र प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा रात्रिभोजसमेत आयोजना गर्नुहुनेछ । मन्त्री खड्का तीन दिने भ्रमण सम्पन्न गरी ११ अगस्टमा काठमाडौँ फर्कनुहुने मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्री खड्काको नेतृत्वको टोली यही साउन २४ देखि २६ गतेसम्म चीन भ्रमणमा जान लागेको जानकारी परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले दिनुभयो । उहाँले भ्रमणमा दुई मुलुकबीचको आपसी हितका विविध विषयमा छलफल हुने बताउनु भयो ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘‘छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री महामहिम वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काज्यू ३ दिने चीन भ्रमणका लागि आगामी अगष्ट ९, २०२२ का दिन त्यसतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।उक्त भ्रमणका अवसरमा नेपाल र चीन दुवै पक्षबीच प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुनेछ । गत मार्चमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा माननीय परराष्ट्रमन्त्रीज्यूलाई चीन भ्रमणको निमन्त्रणा प्राप्त भएको थियो ।’’

परराष्ट्र मन्त्रालयले भ्रमणका विषयहरू पनि तय भइरहेका र भ्रमण सम्पन्न नभई ती विषय सार्वजनिक गर्न हतार हुने पनि जनाइएको छ । प्रवक्ता लम्सालले मन्त्री खड्काको चीन भ्रमणका क्रममा दुई मुलुकबीचको विविध विषयमा छलफल भएपछि मात्रै त्यसबारे जानकारी गराउन उपयुक्त हुने बताउनु भयो ।

प्रवक्ता लम्सालले अमेरिकी सभामुख नान्सी पेलोसीको ताईवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको बताउनु भयो ।

उहाँले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा नेपाल सदैव ‘एक चीन नीति’ को समर्थनमा रहेको पनि स्मरण गराउनु भयो । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधीनतामाथिको आक्रमण भनेको छ । प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रूपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो ।

प्रवक्ता लम्सालले भन्नुभयो, ‘‘नेपालले यस घटनालाई नजिकबाट नियालीरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ । दुवै मुलुकले एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएका छन् । एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा यहाँहरुलाई जानकारी गराउन चाहन्छु ।’’

परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनताको सम्मान गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया