गण्डकी, साउन १२ : गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेशसभा चौथो संशोधन नियमावली २०७९ बहुमतले पारित गरेको छ ।
बैठकमा मस्यौदा समितिका सभापति ओमकला गौतमले समितिको प्रतिवेदनसहित प्रदेशसभा नियमावलीको चौथो संशोधन मस्यौदा पारित गरियोस् भन्दै गर्नुभएको प्रस्तावलाई सभाले बहुमतले पारित गरेको हो ।
संशोधन मस्यौदामा समितिको बैठकमा मन्त्रीको मताधिकार रहने सम्बन्धमा प्रतिपक्षी दल नेकपा ९एमाले०ले फरक मत राखेको थियो । बैठकमा प्रदेशसभा सदस्य मायानाथ अधिकारीले मन्त्रीको मताधिकारका कारण समितिको बैठक प्रभावित हुने गरेको बताउनुभयो ।
यसअघि मन्त्रीहरूको मताधिकार हुन नहुने विषयमा सबै एकमत जस्तै भएकामा सरकार फेरिएपछि एकमत कायम हुन नसकेको उहाँले बताउनुभयो । मन्त्रालयको नाम, नक्सालगायतका विषयमा विवाद नरहेको उहाँले स्पष्ट पार्नुभयो ।
चौथो संशोधन मस्यौदामाथिको छलफलमा सदस्य सरिता गुरुङ, विनोद केसी, पियारी थापा, धनमाया पोखरेल लामा र राजीव पहारीले बोल्नुभएको थियो ।
आजको बैठकको शुन्य तथा विशेष समयमा आशा कोइराला, राजीव पहारी, विष्णुप्रसाद लामिछाने, मायानाथ अधिकारी, ओमकला गौतम, मीना गुरुङ, मनकुमारी गुरुङ, हरिबहादुर चुमानलगायतले बढ्दो महँगी, बाढी पहिरोलगायतका विषयमा सरकार तथा प्रदेशसभाको ध्यानाकर्षण गराउनुभयो ।






