काठमाडौँ, असार १३ : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली मौलिक खेलकुद क्षेत्रको प्रवद्र्धन गर्न सके विदेशी पर्यटक आकर्षित गर्न सकिने बताउनुभएको छ । नेपाल ओलम्पिक कमिटीले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना दिन आज आयोजित कार्यक्रममा उहाँले स्वदेशमा सहासिक खेलकुदको प्रचुर सम्भावना भएकाले यसको विकास भए पर्यटन उद्योग समृद्ध बनाउन सकिने विचार व्यक्त गर्नुभयो ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्षसमेत रहनुभएका मन्त्री श्रेष्ठले खेलकुदलाई पर्यटनसँग जोड्ने सम्भावित उपायबारे सम्बन्धित पक्षसँग छलफल गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले छोटो समयमा धेरै काम गर्नुपर्छ । यो समयमा खेलकुदलाई पर्यटनसँग जोडेर ठोस कार्यक्रमलाई मूर्तरुप दिन सकेमा खेल पर्यटन अगाडि बढाउन सकिन्छ । विशेषतः हामीले पर्वतीय खेलकुदको सम्भावनाबारे गम्भीर रुपमा ठोस कार्यक्रम ल्याउन आवश्यक छ ।”
कमिटीका तर्फबाट उपाध्यक्ष ज्योति राणा, कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठलगायत ओलम्पिक परिवारले मन्त्री श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । यसैबीच मन्त्री श्रेष्ठले लैनचोरस्थित शहीद स्मारक, शोभाभगवतीस्थित गङ्गालाल श्रेष्ठ र दशरथ चन्दले सहादत प्राप्त गर्नुभएको स्थान, बल्खुस्थित मदनआश्रित स्थल र चम्पादेवीस्थित पुष्पलालको शालिकमा पुगेर माल्यार्पण गर्नुभएको थियो ।






