काठमाडौँ, असार ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले देशभर सङ्गठन विस्तार गर्ने क्रममा असारदेखि भदौसम्म तीन महिना सदस्यता वितरण विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
पार्टीका महासचिव डा बेदुराम भुसालको अध्यक्षमा बसेको केन्द्रीय सङ्गठन विभागको बैठकले पार्टी सदस्यता वितरणलाई जोड दिएको हो । उक्त सङ्गठन विभागले केन्द्रीय परिषद्लाई पूर्णता दिन पहिले प्रतिनिधित्व भइसके बाहेकका मोर्चा जनसङ्गठनलाई विधानको व्यवस्थाअनुसार नाम पठाउन भनिएको छ ।
असार मसान्तभित्र पार्टी सदस्यता अद्यावधिक गर्न, नवीकरणको काम भदौ मसान्तभित्र सम्पन्न गर्न अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएको छ । नेकपा (एमाले) सँग विद्रोह गरी गठन भएको नेकपा (एस)ले छोटो अवधिमा नै पार्टी सङ्गठनलाई देशभर फैलाउन सफल भएको बैठकले निष्कर्ष निकालेको छ ।






