‘दसलिम्बुवान सत्रथुमको नीति’ नामक पुस्तक सार्वजनिक

  जेठ २९, २०७९

काठमाडौँ, २९ जेठ : याक्थुङ लिम्बुको इतिहास, भाषा, संस्कार, संस्कृतिका विषयमा जानकारी दिन ‘दसलिम्बुवान सत्रथुमको नीति’ नामक पुस्तक सार्वजनिक गरिएको छ ।

अर्जुनबाबु माबुहाङ र लक्ष्मण लावतीले पुस्तक लेख्नुभएको हो । २९४ पृष्ठको पुस्तकमा लिम्बुको धर्म, दर्शन, विवाह, मुन्धुम, गोर्खा सिक्किम लडाइँ, गोर्खा लिम्बुवान लडाइँ, लिम्बु र सिक्किमको सम्बन्ध, याक्थुङ्बा लिम्बु र सेनसँगको सम्बन्ध, दशलिम्बुका केही नीतिहरू, दसलिम्बु, याक्थुङलगायत विषयका सामग्री समावेश गरिएको छ ।

तेजेन्द्र कुरुम्बाङ्ले प्रकाशन गर्नुभएको पुस्तकको मूल्य रु ६५० तोकिएको छ । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले आज याक्थुङ कुरुङवाङ सङ्जुम्बोको आयोजनामा भएको कार्यक्रममा पुस्तक विमोचन गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले मुलुक अहिलेको अवस्थामा आइपुग्नुमा विभिन्न जातजाति, भाषाभाषीको योगदान रहेकाले यसलाई भुल्न नहुने बताउनुभयो । सबैको भाषा, संस्कृति बुझेर चिनारी गरिनुपर्ने उहाँको भनाइ थियो ।

स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले लिम्बुको इतिहास लेखनमा पुनर्जागरण भएको बताउनुभयो । खोज, अनुसन्धान गरी लेखिएका पुस्तकले विगतका कमी कमजोरी सच्याउन सहयोग पुग्ने उहाँको भनाइ थियो । पूर्वराज्यमन्त्री सीता गुरुङले नेपालको पूर्वी भागमा लिम्बुकै इतिहासको महत्व रहेको बताउनुभयो । लिम्बु जातजातिका थप इतिहासको खोजी गरी प्रकाशन गर्ने क्रमलाई निरन्तरता दिनुपर्ने उहाँको विचार थियो ।

पुस्तकका विषयमा समीक्षा गर्नुहुँदै प्रा बालकृष्ण माबुहाङ र मदन पुरस्कार विजेता भगीराज इङ्नामले नेपालमा बसोवास गर्ने प्रत्येक जातजातिका विषयमा यस्ता खोजपूर्ण पुस्तक सार्वजनिक गरिनुपर्नेमा जोड दिनुभयो । लिम्बु जातिका विभिन्न पक्षका विषयमा खोज गरी लेखिएको पुस्तक उपयोगी हुने उहाँहरुले बताउनुभयो ।
–––

तपाईको प्रतिक्रिया