कोरोना परीक्षण व्यापक बढाउन सरकारलाई आग्रह

  चैत २२, २०७६

काठमाडौँ, चैत २२ : प्रमुख प्रतिपक्षी कांग्रेसले सरकारलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण परीक्षणको व्यापकता बढाउन सरकारलाई आग्रह गरेको छ ।

शनिबार एकैदिन तीन जनामा कोरोना संक्रमण देखिएपछि कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने?’ शीर्षकमा विज्ञप्ति जारी गर्दै सरकारलाई परीक्षणको व्यापकता बढाउन आग्रह गरेका हुन् ।

अहिलेसम्म विदेशबाट फर्किएकामा मात्रै कोरोना संक्रमण देखिएकोमा शनिबार नेपालमै रहेकी कैलालीकी महिलामा देखिएपछि कांग्रेसले यसलाई तत्काल गम्भीरतापूर्वक लिएर परीक्षणको ब्यापकता बढाउन अनुरोध गरेको हो ।

‘यसअघि संक्रमण देखिएका ६ जना सबै विदेशबाट आएका नेपाली थिए। तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं,’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

सरकारले सतर्कता नपुर्‍याएका कारण महिला संक्रमित बनेको आरोप शर्माको छ। समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए यस्तो अवस्था नआउने शर्माको भनाइ छ। उनले यसअघि संक्रमण देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएकाहरुको परिक्षण तत्काल गर्न सरकारलाई सुझाएका छन् ।

बाहिरबाट आएका सबै नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्ने र सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिन पनि सरकारलाई आग्रह गरेका छन्। अब सरकारले सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर सतर्कता, परिक्षण र उपचार बढाउने काम युद्धस्तरमा गर्नु पर्ने शर्माले उल्लेख गरेका छन् ।

‘अब रत्तिभर हेलचेर्क्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ। समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस्,’ शर्माद्वारा जारी विज्ञप्तिलाई उद्धृत गर्दै इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया