म्यान्माको गुम्बामा भएको हवाई आक्रमणमा १४ जनाको मृत्यु

  १ घण्टा अगाडि

याङ्गोन (म्यान्मा), ६ भदौ : म्यान्माको बौद्ध गुम्बामा नागरिक भेला भएको समयमा भएको सैन्य हवाई आक्रमणमा १४ जनाको मृत्यु भएको विद्रोही लडाकुले बताएका छन् । सेनाले सन् २०२१ मा आङ सान सुकीको निर्वाचित सरकारलाई अपदस्थ गरी नोबेल शान्ति पुरस्कार विजेता पक्राउ गरेपछि म्यान्मामा गृहयुद्ध जारी रहेको छ ।

विगत पाँच वर्षदेखि सेनाले प्रजातन्त्र समर्थक र जातीय अल्पसङ्ख्यक विद्रोहीको समुहसँग लडिरहेको समयमा विभिन्न पक्षबाट भएका आक्रमणमा एक लाखभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । मानिसहरु प्रार्थनाको लागि भेला भएको अवस्थामा गुम्बालाई लक्षित गरी मध्य सागिङ क्षेत्रको म्याउङ नगरमा बिहान ९ः०० बजे गरिएको पछिल्लो हवाई आक्रमणमा ११ जना पुरुष र तीन जना महिलाको मृत्यु भएको जनाइएको छ ।

म्यान्माको वर्षाको मौसमसँग लगभग मेल खाने बौद्ध परम्पराको अवसरमा प्रार्थना गर्न वृद्ध मानिसहरू तीन महिनाका लागि उक्त ध्यान केन्द्रमा प्रवेश गरेको समयमा आक्रमण भएको जनाइएको छ । आक्रमणमा मृत्यु भएका मानिसहरु ५० देखि ७० वर्ष उमेर समुहका रहेको जनाइएको छ । जानकारीका लागि म्यान्माको सेनालाई सम्पर्क गर्न तुरुन्तै सम्भव नभएको जनाइएको छ ।

तर दोस्रो स्थानीय विपक्षी लडाकु समूहले सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने सर्तमा मृतक पाँच जना आफ्नै गाउँका रहेको र अन्य नौ जना अन्य गाउँका रहेको उल्लेख गरेको छ । प्रत्यक्षदर्शीले मानिसहरूलाई बचाउने प्रयास गरिरहेको अवस्थामा पुनः दोस्रो पटक हवाई आक्रमण भएकाले धेरै मानवीय क्षति भएको जनाइएको छ ।

म्यानमाको सेनाले विद्रोहीहरूलाई तह लगाउनका लागि आपूर्ति गरिएका चिनियाँ र रूसी जेट विमानहरूको प्रयोग गर्ने गरेको विश्लेषक बताउँछन् । म्यान्माका लागि स्वतन्त्र अनुसन्धान संयन्त्र (आइआइएमएम) का संयुक्त राष्ट्रका अनुसन्धानकर्ताले गत हप्ता सेनालाई नागरिकविरुद्ध अन्धाधुन्ध र जानाजानी हवाई आक्रमण गरेको आरोप लगाउँदै प्रतिवेदन प्रकाशित गरेका थिए ।

सार्वजनिक भवन, मठ-मन्दिर, विद्यालयलाई लक्षित गरी आक्रमण गरिरहेको जनाइएको छ । म्यान्माको सरकारले आइआइएमएमको दाबीलाई म्यान्माको सुरक्षा बलविरुद्ध अप्रमाणित र गलत जानकारीको आधारमा गरिएको एकतर्फी आरोप भनेको छ । पाँच वर्षको सैनिक शासनपछि, म्यान्माको सेनाले सन् २०२६ को सुरुतिर चुनाव सम्पन्न गरेको थियो ।

आइआइएमएमले जारी गरेको प्रतिवेदनमा चुनाव अघिको समयमा हवाई आक्रमणमा उल्लेखनीय वृद्धि भएको जनाएको छ । प्रजातान्त्रिक विश्लेषकले लोकप्रिय सुकीलाई छोडेर, उहाँको पार्टीलाई आलोचना गर्दै असहमति जनाउनेलाई जेल सजाय दिएर सैन्य शासनलाई पुनः स्थापित गर्ने प्रक्रिया भन्दै मतदानलाई बहिस्कार गरेका थिए ।

मतदानको परिणाम स्वरूप विद्रोही समुहका नेता मिन आङ ह्लाइङले अप्रिलमा राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको थियो । उहाँले हाल म्यान्माको निर्वाचित सरकारलालाई स्थापित गर्न तथा विदेशमा कूटनीतिक मान्यता प्राप्त गर्न कडा कूटनीतिक पहलको नेतृत्व गरिरहनु भएको छ ।

भारत, चीन, लाओस र थाइल्यान्डलगायतका देशले हालै मान्माको भ्रमण गरेर उहाँलाई खुला रूपमा समर्थन गरेका छन् भने अभियानकर्ताहरूले आलोचना गर्दै उनीहरुलाई अनुचित वैधता दिएको गुनासो गरेका छन् । यस हप्ता, मिन आङ ह्लाइङले रूस र बेलारुसको भ्रमण गर्नुभएको छ भने उनीहरु विद्रोह पछिको म्यान्मा सरकारका दृढ सहयोगीका रुपमा रहेका छन् । (रासस/एएफपी)

तपाईको प्रतिक्रिया