काठमाडौँ, ६ भदौ : सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषदले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।
परिषदका अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिनाथ योगीले आज संयुक्त रूपमा विज्ञप्ति जारी गरेर विद्यालयका कर्मचारीको पारिश्रमिक वृद्धि गर्ने निर्णयको स्वागत गर्नुभएको छ । यद्यपि परिषद्ले विद्यालय कर्मचारीका सेवा–सुविधा, वृत्ति विकास, पेसागत तथा सामाजिक सुरक्षा, आवश्यक दरबन्दी र स्थायी व्यवस्थापनलगायत माग सम्बोधन गर्न माग गरेको छ ।
सरकारको निर्णयअनुसार प्रारम्भिक बालविकास सहजकर्ता, विद्यालय कर्मचारी र विद्यालय सहयोगीका लागि सङ्घीय सरकारले उपलब्ध गराउँदै आएको पारिश्रमिक अनुदानमा मासिक पाँच हजार वृद्धि भएको छ । यससँगै इसिडी सहजकर्ताको पारिश्रमिक १२ हजारबाट १७ हजार, विद्यालय सहयोगीको १० हजारबाट १५ हजार र लेखा हेर्ने विद्यालय कर्मचारीको १५ हजारबाट २० हजार पुगेको राससमा उल्लेख छ ।






