द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन्

  जेठ १४, २०७९

रुपन्देही, जेठ १४: स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनतामाझ गए ।

केहीले जिते, केहीले हारे । सशस्त्र द्वन्द्व प्रभावितका लागि भने निर्वाचन ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ जस्तै भएको छ । विकासे कामका योजना लिएर दल र स्वतन्त्र उम्मेदवार सबैका घरदैलोमा पुगे तर, द्वन्द्व प्रभावितका समस्या कसैले सम्बोधन नगरेको उनीहरुको गुनासो छ । “मत माग्न सबै दलका उम्मेदवार आए तर हाम्रो समस्या कसैले बुझ्ने कोशिससमेत गरेनन्”, कपिलवस्तुको शुद्धोधन गाउँपालिका–२ की द्वन्द्व प्रभावित लक्ष्मी भट्टराईले दुःखेसो पोख्नुभयो ।

लक्ष्मीका श्रीमान् नेत्रलाल भट्टराईलाई सशस्त्र द्वन्द्वका क्रममा राज्य पक्षद्वारा २०६१ फागुन ११ गते मारिनुभएको थियो । सानो चिया पसल सञ्चालन गर्दै आएका नेत्रलाल लमनीमा सामान लिन गएका बेला सेनाले गोली हानी हत्या गरेको थियो । श्रीमान्को मृत्युपछि मजदुरी गरेर घरखर्च चलाउँदै आउनुभएकी लक्ष्मी अहिले पनि न्यायको पर्खाइमा हुनुहुन्छ । “न्यायका लागि नेता, प्रहरी र अदालतको ढोकामासमेत धेरै पटक पुगियो, हाम्रा मुद्दा कसैका प्राथमिकतामा परेनन्”, उहाँले भन्नुभयो ।

तत्कालीन माओवादी र नेपाली सेनाबीचको सशस्त्र द्वन्द्व अन्त्य भई विस्तृत शान्ति सम्झौता भएको डेढ दशक पुगेको छ । विसं २०६३ मा विस्तृत शान्ति सम्झौतामार्फत द्वन्द्व अन्त्य भएको घोषणा त भयो, १० वर्षसम्म चलेको द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यातना, बलात्कार तथा गैर न्यायिक हत्याका पीडितले अझैसम्म न्याय पाएका छैनन् । लामो समयसम्म न्याय नपाउँदा पीडित र तिनका परिवार निराश देखिन्छन् । यो बीचमा धेरैपटक सरकार फेरियो, धेरै नीति फेरिए तर द्वन्द्व प्रभावितका समस्या भने जस्ताको तस्तै छन् । आयोगमा दिइएका उजुरी त्यत्तिकै थन्किएका छन् ।

रूपन्देहीको सियारी गाउँपालिका–६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको पनि डेढ दशक बढी भइसक्यो । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै पनि फर्केर आउँछन् कि भन्ने आशा धनकुमारीलाई छ । रोजगारीका लागि भारत गएका कमललाई गाउँ फर्किएको केही दिनपछि ससुराली जान लाग्दा बाँसगढी भन्ने ठाउँबाट सादा पोशाकका सुरक्षाकर्मीले लिएर गएका थिए ।

उमेरले त्यतिबेला ३० वर्षका कमलप्रसादलाई घटनाको १५ दिनपछि मात्र सेनाले लगेको भन्ने यकीन भयोे । उनको अवस्थाबारे परिवारलाई कुनै जानकारी गराइएन । कमल बेपत्ता भएपछि धनकुमारीलाई घर चलाउन निकै मुस्किल प¥यो । सामान्य खेतीपाती गरेर गुजारा चलाउँदै आए पनि एक छोरा र एक छोरीलाई पालनपोषण पढाई खर्च जुटाउन धनकुमारीलाई धनको अभाव छ । तर उहाँको पीडा बुझ्ने कोही छैन ।

सरकारले बेपत्ताको अवस्था सार्वजनिक नगर्दा झनै अप्ठ्यारो परेको उहाँको भोगाइ छ । धनकुमारी भन्नुहुन्छ, “हामीले सत्यतथ्य जान्न पाएका छैनौँ, मरेको भनाँै भने लाश देख्न पाएकी छैन, जिउँदै हुनुहुन्छ भनौँ भने अवस्था थाहा छैन ।”

रुपन्देहीकै कञ्चन गाउँपालिका–४ की दिलमाया काउचाका श्रीमान् बालकृष्णको अवस्था पनि अहिलेसम्म थाहा छैन । सशस्त्र द्वन्द्वका क्रममा भर्खर ३९ वर्ष टेकेका बालकृष्णलाई सुरक्षाकर्मीले लिएर गएका थिए । उहाँ पनि श्रीमान्को पर्खाइमा हुनुहुन्छ ।

यस्तै सोही गाउँपलिका–५ का निशान सुवेदीका बुवा जीवनारायणको हत्या भएको १८ वर्ष पुग्यो । विसं २०६० असोज ७ गते सुरक्षाकर्मीलेनै उहाँको हत्या गरेको थियो । तत्कालीन आमा गाविसमा एक कार्यक्रममा सहभागी हुन गएका सुवेदीलाई के कारणले हत्या गरियो भन्ने चित्तबुझ्दो जवाफ परिवारले अहिलेसम्म पाएका छैनन् ।

तपाईको प्रतिक्रिया