नेपाल बैङ्कको नाफा साढे चार अर्ब, ९०औँ वार्षिकोत्सव मनाउँदै

  ९ घण्टा अगाडि

काठमाडौँ, कात्तिक ३० गते : नेपालको औपचारिक बैङ्किङ प्रणालीको सुरुआत गरेको मुलुककै पहिलो बैङ्क नेपाल बैङ्क लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा चार अर्ब ५० करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ ।

बैङ्कका अनुसार समीक्षा अवधिमा कुल निक्षेप सङ्कलन चार खर्ब १६ अर्ब रुपियाँ पुगेको छ भने कर्जा लगानी दुई खर्ब ६२ अर्ब रुपियाँ रहेको छ । स्थापनाका बेला आठ लाख ४२ हजार रुपियाँ चुक्ता पुँजीबाट सुरु भएको बैङ्कको चुक्ता पुँजी अहिले बढेर १५ अर्ब ६९ करोड रुपियाँ पुगेको छ ।

नेपाल राष्ट्र बैङ्क स्थापना हुनुभन्दा अगाडि नै स्थापित नेपाल बैङ्कले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाउँदै छ । परम्परागत साहुमहाजन प्रथाको अन्त्य गर्दै सर्वसाधारणको बचतलाई औपचारिक माध्यमबाट सङ्कलन गर्ने र कर्जा प्रवाह गर्ने अभ्यासको थालनी गरेको बैङ्कले नौ दशकको यात्रामा आफूलाई आधुनिक तथा प्रतिस्पर्धी बैङ्कका रूपमा स्थापित गरेको छ ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयले नवीनतम प्रविधिको उपयोग र नियामकीय मापदण्डको पालना गर्दै बैङ्क पूर्ण व्यावसायिक ढङ्गले अघि बढिरहेको बताउनुभयो । उहाँका अनुसार बजारमा उपलब्ध आधुनिक डिजिटल बैङ्किङ सेवामा पनि नेपाल बैङ्क अन्य वाणिज्य बैङ्कसँगै प्रतिस्पर्धात्मक रूपमा अगाडि बढिरहेको छ ।

सुरुआती चरणमा १२ जना कर्मचारीबाट सेवा सुरु गरेको बैङ्कमा अहिले करिब तीन हजार छ सय कर्मचारी आबद्ध छन् । बैङ्कको वित्तीय अवस्था सबल रहेको उल्लेख गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेयले चुक्ता पुँजी १५ अर्ब ६९ करोड रुपियाँ, जगेडा कोष करिब २५ अर्ब रुपियाँ र कुल नेटवर्थ करिब ४२ अर्ब रुपियाँ रहेको जानकारी दिनुभयो ।

बैङ्कले सरकारी सुरक्षणपत्रलगायत विभिन्न क्षेत्रमा करिब एक खर्ब ५० अर्ब रुपियाँ लगानी गरेको छ । नेपाल राष्ट्र बैङ्कको मापदण्डअनुसार बैङ्कको जोखिम भारित पुँजी पर्याप्तता अनुपात १३.६६ प्रतिशत (अपरिष्कृत) कायम रहेको छ ।

तपाईको प्रतिक्रिया