फुङ्लिङ, ३ असोज : ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालिखोलास्थित तिम्बुङ पोखरी क्षेत्र अहिले सयौँ भेडाले भरिएको छ । हरियाली डाँडाकाँडा र हिमाली चरनमा भेडाको बथान देखिँदा तिम्बुङ पोखरी क्षेत्रको प्राकृतिक सौन्दर्य थप आकर्षक बनेको छ ।

सिदिङ्वा गाउँपालिका–२ सादेवाका ५० वर्षीय हेमकुमार राई हरेक वर्ष असारमा तीन सयभन्दा बढी भेडा लिएर तिम्बुङ पोखरी क्षेत्रमा पुग्नुहुन्छ । भदौ अन्तिमतिर भेडाको बथान लिएर गाउँ फर्किने राईले १३ वर्षदेखि भेडापालन गर्दै आउनुभएको छ ।

उच्च पहाडी चरनमा भेडा चराउँदै राईसहित चार जना गोठालाले दिनरात भेडाको रेखदेख गर्छन् । उहाँका अनुसार भेडा, पाठा, घिउ, छुर्पी र ऊन बिक्रीबाट वार्षिक करिब आठ लाख रुपियाँ आम्दानी हुने गरेको छ ।
हिमाली चरनमा भेडापालन गर्दा पानी, चिसो, घाँसको अभाव, भेडा हराउने र रोग लाग्ने जोखिम पनि उत्तिकै छ । यस वर्ष मात्रै छ वटा भेडा हराएका छन् भने रोगका कारण ३० वटा भेडा मरेका छन् । यसअघि एकैपटक ४० वटासम्म भेडा मरेको राईले बताउनुभयो ।

पछिल्लो समय भेडापालनमा नयाँ पुस्ताको आकर्षण घट्दै गएको उहाँको अनुभव छ । “सकुन्जेल आफैँ हेर्छु, नसके छोड्नुपर्ने हुन सक्छ,” राईले भन्नुभयो । उहाँले अबदेखि भेडाको बिमा गर्ने सोच बनाएको बताउनुभएको गोरखापत्र अनलाईनमा उल्लेख छ ।










