ताप्लेजुङ, २० पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले सरकारसँगको छलफलपछि एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको बताउनुभएको छ ।
प्रेस चौतारी ताप्लेजुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उपमहासचिव भट्टराईले यसअघि निर्वाचन हुने/नहुने र पार्टी सहभागी हुने/नहुने अन्योल रहेकामा सरकारसँगको छलफलपछि निर्वाचनमा जाने निर्णय गरिएको जानकारी दिनुभयो । निर्वाचन प्रक्रिया सुरु भइसकेको जनाउँदै उहाँले राजनीतिक दलहरूले समानुपातिक बन्दसूची पनि बुझाइसकेकाले निष्पक्ष, भयरहित वातावरणमा निर्वाचन गराउनेतर्फ सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
गत भदौ २३ र २४ गतेका घटनापछि सुरक्षा निकायको मनोबल घटेको, हजारौँ कैदीबन्दी फरार रहेका र हतियार लुटिएका विषयमा पार्टीले गम्भीर चासो व्यक्त गरेको उपमहासचिव भट्टराईको भनाइ छ । सरकारले यी विषयमा संवेदनशील रहेको प्रतिक्रिया दिएपछि नेकपा एमाले निर्वाचनमा जाने निर्णयमा पुगेको उहाँले बताउनुभयो ।
यो निर्वाचन विगतका निर्वाचनभन्दा भिन्न हुनुका साथै लोकतन्त्र तथा संविधानको पुनःस्थापनाका लागि निर्णायक हुने उपमहासचिव भट्टराईले धारणा राख्नुभयो । उहाँले लोकतन्त्रलाई जोगाउनु अहिलेको प्रमुख चुनौती भएकाले सबै राजनीतिक दलबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।
अन्तरराष्ट्रिय परिवेशमा हालै मात्र भेनेजुयला, युक्रेन, पूर्वी एसिया, बङ्गलादेश, पाकिस्तान र श्रीलङ्कामा देखिएको तनावको असर नेपालमा पनि पर्न सक्ने भन्दै उहाँले राष्ट्रिय एकताको आवश्यकता औँल्याउनुभयो । गत भदौ २३ गते सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फिर्ताको माग गर्दै भएको नवयुवा आन्दोलनका माग जायज रहेका भन्दै उपमहासचिव भट्टराईले यसमा एमालेको कुनै विपत्ति नरहेको स्पष्ट पार्नुभयो ।
यसैबीच, ताप्लेजुङको जिल्ला कमिटीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि पाँच जनाको नाम सिफारिस गरेको छ । उपमहासचिव भट्टराईले पार्टीले सर्वसम्मत रूपमा एक जना उम्मेदवार चयन गर्ने र जो उम्मेदवार भए पनि एमालेको जीत सुनिश्चित गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो ।
शनिबार बसेको एमाले ताप्लेजुङको बैठकले योगेशकुमार भट्टराई, तिलकुमार मेन्याङ्बो, क्षितिज थेबे, टङ्क आङ्बुहाङ र भीमादेवी ओझासहित पाँच जनाको नाम सिफारिस गरेको थियो । रासस।






