लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ

  २ घण्टा अगाडि

काठमाडौँ, ९ मङ्सिरः प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले बाल्यकालदेखि नै महिला र पुरुषबीच समानता र सम्मान गर्न सिकाउनुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय महिला आयोगद्वारा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा उहाँले लैङ्गिक हिंसा बढिरहेको बताउँदै सानैदेखि महिला पुरुषबीच एकअर्कालाई सम्मान गर्न सिकाए लैङ्गिक हिंसामा कमी आउने बताउनुभयो । उपसभामुख राना मगरले पछिल्लो समय महिला तथा किशोरीमा साइबर आक्रमण अत्यधिक देखिएको भन्दै यसविरुद्ध सचेतना र उहाँले हिंसा रोक्न पुरुषको पनि साथ हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “१६ दिने अभियानमा महिलाको गीत मात्र गाउने र हिंसाको कुरा मात्र गर्ने होइन, महिलालाई कसरी सशक्त बनाउने भनेर सोच्नुपर्छ । अभियान मनाउने मात्र होइन, सधैँ सबै महिलाहरु एक भएर जाग्नुपर्छ । महिलामैत्री संरचनाको विकास, महिला सशक्तीकरणका कार्यक्रम, नेतृत्व तहमा महिलाको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता छ ।”

नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रतिनिधि प्रहरी उपरीक्षक(एसपी)वसन्धुरा खड्काले लैङ्गिक हिंसा अन्त्य गर्न साहस, ऐक्यबद्धता र सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो । उहाँले भन्नुभयो, “लैङ्गिक हिंसा बढ्दो छ, तर यसलाई रोक्न प्रहरी मात्र काफी छैन, सबैको सामूहिक प्रयास जरुरी छ । सामाजिक सञ्जालमार्फत हिंसा बढी देखिने गरेको छ । यस विषयमा नयाँ ढङ्गले सोच्नुपर्ने भएको छ ।”

एसपी खड्काका अनुसार २०८१/८२ मा नेपाल प्रहरीमा लैङ्गिक हिंसासम्बन्धी १८ हजार ९२६ वटा उजुरी आएका छन् । कार्यक्रममा मनोचिकित्सक डा वासुदेव कार्कीले डिजिटल प्रविधिलाई स्वस्थ्यकर तथा विवेकपूर्ण ढङ्गले चलाउन सके त्यसबाट हुने हिंसा तथा त्यसले उत्पन्न गराउने मानसिक असरबाट बच्न सकिने बताउनुभयो ।

साइबरविज्ञ अभिजित गुप्ताले अनलाइनमा के ‘सेयर’ गर्ने र नगर्ने बुझेर मात्र प्रयोग गर्नुपर्ने बताउँदै प्रविधिको सही प्रयोग गर्न सके हिंसाबाट बच्न सकिने बताउनुभयो । जेनजी मुभमेन्ट अलायन्सकी अभियन्ता मोनिका निरौलाले प्रविधिको फाइदा र बेफाइदा दुवै भएकाले महिलाले मात्र नभइ फरक पहिचान बोकेका समुदायले भोगेको हिंसाको पनि सम्बोधन हुुनुपर्ने बताउनुभयो ।

‘प्रविधिको सही प्रयोग गरौँः लैङ्गिक हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । यो अभियान हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १०) सम्म सञ्चालन हुने गरेको छ ।

तपाईको प्रतिक्रिया