सामरिक क्षेत्र मुस्ताङलाई सस्तो र फितलो बनाइनुको तात्पर्य

  मंसिर ०६, २०८२

साझाखबर विश्लेषण, बेइजिङ

नेपाल सरकारले चीनको सिचाङ अर्थात् तिब्बती सीमासँग जोडिएको माथिल्लो मुस्ताङमा विदेशी नागरिकलाई सहज पहुँचका लागि २०२५ नोभेम्बर १९ देखि कानुन संशोधन गरेको छ । १० दिनका लागि ५ सय डलर अनिवार्य भएकोमा अब प्रतिदिन ५० अमेरिकी डलर मात्रै लाग्ने भएको छ । यसअघि यो क्षेत्रमा १० दिनको न्यूनतम प्रवेशका लागि ५०० अमेरिकी डलर एकमुष्ट शूल्क तिर्नुपर्ने थियो, जसमा १० दिनपछि प्रत्येक दिन थप ५० डलर लाग्थ्यो । यो निर्णय अध्यागमन नियमावली २०५१ को अनुसूची १२ मा संशोधन गरेर गरिएको हो ।

पर्यटक सङ्ख्या बढाउन र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउने पवित्र मनसाय लिएर अन्तरिम सरकारले प्रवेश शूल्कलाई सहज बनाएको बताएको छ । महँगो शूल्कका कारण कम मात्रै पर्यटक त्यहाँ पुगेकाले लज, गाइड, होमस्टे आदि स्थानीय पर्यटन व्यवसायीले पर्याप्त लाभ उठाउन नसकेको भन्दै स्थानीय सरकार र व्यवसायीहरूले पटक पटक शूल्क सहज बनाइदिन आग्रह गर्दै आएका थिए । यो माग पूरा हुने बित्तिकै स्थानीय गाउँपालिका मात्रै नभएर पर्यटन व्यवसायीहरूले स्वागत गरेका छन् । गृहका प्रवक्ता आनन्द काफ्लेले पहिचान डटकमका सम्पादक माधव दुलालसँग भनेका छन्, ‘भूगोल नेपालको हो । संवेदनशील क्षेत्र हो । तर स्थानीयको माग थियो । चीन र भारतसँग सरोकार भएन । पर्यटक जानलाई प्रक्रिया अनुसार अनुमति लिने हो । अध्यागमन विभागले पर्यटक भिसा जारी गर्ने हो।’

सस्तो शूल्कले पर्यटक बढ्ने, स्थानीय राजस्व र रोजगारी बढ्ने अपेक्षाका साथ पर्यटन व्यवसायी हौसिए पनि नेपाल सरकारले सामरिक महत्वलाई फितलो बनाएको भान हुन्छ । ५०० डलरको लोभले अनिवार्य बस्नैपर्ने वा तिरिसकेको शूल्कलाई माया मारेर फर्किनुपर्ने बाध्यतामा रहेका पर्यटक अब जान मन लाग्ने बित्तिकै ५० डलर तिरेर फर्किने सुविधा पाउने भए । अतः जहिले काम पर्छ, तहिले जानसक्ने भए । तर यसबाट एक दिन मात्रै पुगौं भन्ने सोच भएर उपल्लो मुस्ताङ पुग्नेहरू पनि बढ्नेछन् ।

सन् १९९२ मा मात्र विदेशी पर्यटकका लागि खोलिएको मुस्ताङ प्राकृतिक सौन्दर्य, तिब्बती संस्कृति र गुफाहरूले लोकप्रिय छ भने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको यो क्षेत्रमा पर्यावरण र सांस्कृतिक संरक्षणको एउटा रहस्यमयी क्षेत्र हो । प्रवेश शूल्कमा गरिएको सहज व्यवस्थाले पर्यटकहरू ह्वार्ह्वार्ती उपल्लो मुस्ताङमा पुग्नेछन्, जसका कारण नेपालले अझै भूराजनीतिक दबाब झेल्नुपर्ने निश्चित छ ।

जस्तो कि चीनको संवेदनशील क्षेत्र सिचाङ अर्थात् तिब्बतसँग सीमा जोडिएको हुनाले पश्चिमाहरूको बाक्लो उपस्थितिले चीनलाई सशंकित बनाउन सक्नेछ । यसै पनि चीनले हिमाली क्षेत्रहरूमा पर्यटकको रूपमा पश्चिमी (अमेरिकी वा युरोपेली) वा भारतीयहरूले प्रवेश गरी तिब्बतविरुद्ध अवाञ्छित गतिविधि गर्ने चिन्ता जाहेर गर्दै आएको थियो ।

सन् १९५०-१९७० को दशकमा अमेरिकाले तिब्बती खम्पा विद्रोहीहरूलाई प्रशिक्षण र हतियार आपूर्ति गर्ने आधार इलाकाको रुपमा मुस्ताङलाई प्रयोग गरेको थियो भने अझै पनि इन्डो-प्यासिफिक रणनीतिमा नेपाललाई जबर्जस्ती घुसाएर चीनको बेल्ट एन्ड रोड इनिसिएटिभलाई काउन्टर दिने अमेरिकाको रणनीति छ । मुस्ताङमा अमेरिकी सहयोग परियोजनाले सांस्कृतिक संरक्षणमा चासो राख्दै आएको छ । लो गेकर गुम्बा मन्दिरको पुनर्निर्माण र पुरातात्विक अध्ययनमा अमेरिकी रुचिले उपकरण र सञ्चार प्रणाली जोडेको हुनसक्ने शंका गरिएको छ ।

अमेरिकी डोनाल्ड ट्रम्प प्रशासनले नेपालसँग सैन्य सहयोग र सहकार्य बढाउने इच्छा राखेको छ । सोही बमोजिम संयुक्त अभ्यास, विपद् व्यवस्थापन र रक्षा सहयोग भन्दै हिमालतिर प्रशिक्षणको चाहना राख्दै आएको छ, जसमा मुस्ताङ पर्दछ ।

मुस्ताङमा गोराहरू घुम्न मात्रै जाँदैनन् तर अध्ययन अनुसन्धान पनि गर्छन् जसको दायरा फराकिलो हुनसक्छ । ठूलो संख्यामा पश्चिमा पर्यटकहरू मुस्ताङ आउजाउ गर्दा नेपालको प्रशासनले उचित निगरानी गर्न सक्दैन । सरकारी अधिकारीहरूले ढंगले काम नगर्ने परिपाटी छ, अतः चीनले नै खतरा न्यूनीकरणका लागि कदम चाल्नुपर्ने हुन्छ । त्यसको एउटा तारो भर्खरै चलायमान हुन थालेको कोरला नाका हुनसक्छ । केरुङ र तातोपानी नाकाको विकल्पको रुपमा कोरला नाका विकसित हुँदै गर्दा यो बन्द हुने स्थितिमा पुग्नसक्छ ।

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत अमेरिकाले नेपालको ऊर्जा र यातायातलाई मजबुत बनाउन भन्दै सुशीला कार्की अन्तरिम सरकार आएको मौकामा थप रकम प्रदान गर्ने घोषणा गरेको छ । यो भनेको चीन लक्षित सीमा क्षेत्रसम्म पुग्न नेपाललाई प्रलोभन देखाउनु हो । त्यो अवश्य संभव छ ।

अति संवेदनशील मानिएका क्षेत्रमा लोमान्थाङ गाउँपालिकाको वडा नं १ देखि ५ सम्मको सम्पूर्ण भूभाग, साविकको लोमान्थाङ, छोसेर र छोन्हुप गाविसका सम्पूर्ण भूभाग पर्छन् । यस्तै, लो घेकर दामोदर कुण्ड गाउँपालिकाको वडा नं १ देखि ५ सम्मको सम्पूर्ण भूभाग र साविकका चराङ, घमी र सुर्खाङ गाविसका सम्पूर्ण भाग रहेका छन् । राष्ट्रिय दैनिक राजधानीमा अमृतनाथ तिमल्सिना लेख्छन्, ‘मुस्ताङका वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको वडा नं ३ का सम्पूर्ण भूभाग र वडा नं ५ को साङ्तागाउँका साथै साविकको छुसाङ गाविसको सम्पूर्ण भूभाग तथा साविकको कागवेनी गाविस वडा नं १ को साङ्तागाउँ पनि अति संवेदनशील क्षेत्र अन्तर्गत पर्छन्।’

यसअघि सन् २०२३ मा मुस्ताङमा अमेरिकी संयुक्त सैन्य अभ्यासको प्रस्तावलाई नेपालले अस्वीकार गरेको थियो । चीनसँगको सम्बन्ध बिग्रिन नदिन तत्कालीन राजनीतिक दलहरू सम्मिलित सरकारले रोक्न सकेको थियो । तर अहिले अमेरिकी डिजाइनमा बनेको सरकार नै स्वतन्त्र रुपमा यस्ता कार्यमा लागिरहेको छ । अमेरिकाको रुचि नेपाललाई चीनविरुद्धको बफर जोन बनाउनु हो, जसले मुस्ताङ जस्ता क्षेत्रलाई थप संवेदनशील बनाउँछ । नेपालले सन्तुलन कायम राख्नु चुनौतीपूर्ण छ ।

तपाईको प्रतिक्रिया