मिडिया सहकार्यका लागि ‘ग्लोबल साउथ मिडिया पार्टनर्स मेकानिज्म’

  कार्तिक ३०, २०८२

साझाखबर संवाददाता, बेइजिङ

नोभेम्बर पहिलो साता उत्तरपश्चिम चीनको पल्लो शान्सी प्रान्तको सिआनमा ग्लोबल साउथ मिडिया पार्टनर्स मेकानिज्म तथा १३औं ग्लोबल भिडियो मिडिया फोरम आयोजित भयो । जोर्डनका पूर्व प्रधानमन्त्री ओमार रज्जाजले जेनजी र न्यू मिडियाको प्रसङ्ग उप्काए । उनले जेनजी पुस्तालाई आधिकारिक सूचना दिन नसक्नु र जेनजी पुस्ताले आधिकारिक सूचना नलिनु दुबै विरोधाभाषका बीच मिडियाको शक्ति अझै खड्किएको इंगित गरे ।

भर्खरै जेनजी पुस्ताको भ्रष्टाचार विरोधी अभियान र सँगसँगै अचानक भएको घुसपैठले निम्त्याएको वितण्डाका कारण जेनजीको विषय उठ्नु नेपाली प्रतिनिधिका लागि अझै ध्यानाकर्षक विषय रह्यो नै । सामाजिक सञ्जालका कारण अहिले समान विचार भएको कुनै पनि समूहलाई एकीकृत हुन, असन्तुष्टि पोख्न, मनखुशी अघि बढ्न सहज भएको छ । यसबाट मूलधारका मिडियाले आफ्नो उपादेयता गुमाउँदै गएको देखिन्छ । चौथो अंगको मनितो घट्दै गएको छ । मिडिया कसरी देशको पहरेदार बन्नसक्छ र कसरी सहकार्य गर्ने भन्ने विषयमा छलफल गर्ने हतारो नदेख्दा नेपालका मिडियाको साम्राज्य पनि बिस्तारै ढल्ने प्रतीत हुँदैछ ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को शान्सी प्रान्तका सचिव तथा शान्सी प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ यितले मिडिया उद्योगमा थप प्रगति हासिल गर्न र सभ्यताहरूबीच गहिरो पारस्परिक सिकाइलाई प्रवर्द्धन गर्न विभिन्न देशका मिडिया संस्थाबीच आदानप्रदानलाई अझै सुदृढ पार्नुपर्ने आवश्यकता औंल्याए । विश्वव्यापी रुपमा न्यू मिडियाले मूलधारका मिडियाको आसन हल्लाउन थालिरहेका बेला सम्बन्धित सरोकारवालाहरू नवप्रवर्तनमा जुट्ने र पत्रकारिताको वैधता जोगाउने तर्फ एकठ्ठा नहुने हो भने यो धरापमा पर्दै जानेछ । सामूहिक बहसको आवश्यकता खट्किइरहेका बेला चीनले ४० देश र क्षेत्रका अन्तर्राष्ट्रिय मिडिया संस्थाका प्रमुखहरू, चीनस्थित दूतावासका प्रतिनिधिहरू सहित ३०० भन्दा बढीलाई एकै ठाउँमा भेला गरेको थियो । चीन एकपछि अर्को गर्दै प्रविधिमा फड्को मारिरहेछ । स्वतन्त्र प्रेसप्रति आशंका कायमै रहेको बेलामा चीनले आफूलाई परिवर्तनको संवाहकको रुपमा उभ्याउँदै लगेको छ बुझिन्छ भने विश्वका विभिन्न देशबाट चिनियाँ भूमिमा टेकेर सरोकारवालाहरूले प्रेसको भविष्यमाथि विचार विमर्श गर्न थालेका छन् ।

विकासोन्मुख क्षेत्रसँग हात बढाउन खोज्ने मनसायले चीनले अन्तर्राष्ट्रिय संचार नेताहरूलाई मिडियाको भूमिकाको अन्वेषण गर्न र ग्लोबल साउथको आवाजलाई उँचो पार्न निम्त्यायो । एसिया-प्यासिफिकदेखि अरब, ल्याटिन अमेरिकन, क्यारिबियन, एसियन प्रतिनिधिहरूले साझा चासो राखे कि सामाजिक सञ्जालको प्रवृत्ति र मूलधारको मिडिया सिमान्तकृत भइरहँदा अब के गर्न सकिन्छ ?

साझा लाभका लागि सहमति निर्माण: विश्वव्यापी शासनमा मिडियाको भूमिका भन्ने विषयमा सहभागीहरूले मिडियाको साख बचाइराख्न, आपसी सहकार्यलाई गहन पार्न, सामग्री साझेदारी गर्न, व्यावसायिक प्रशिक्षण र संयुक्त उत्पादनलाई प्रोत्साहित गर्न, संवाद र अनुसन्धानलाई बढाउँदै जान आवश्यक देखेपछि ‘ग्लोबल साउथ मिडिया पार्टनर्स मेकानिज्म’को अवधारणा अघि सारिएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले २०१३ मा अघि सारेको बीआरआई अवधारणाजस्तै यो मेकानिज्मको अवधारणा कता कता मिल्दोजुल्दो देखिन्छ । जस्तै विन-विनको भावनामा समान रुपमा परामर्श गर्ने, साझा विकासलाई महत्व दिँदै ग्लोबल साउथको शक्ति विकास हेतु मार्गदर्शक सिद्धान्तहरू स्थापित गर्ने इत्यादि । यसमा ११४ देश र क्षेत्रका ५२८ मिडिया संस्थाहरूले तत्कालै सहभागिता जनाइसकेका छन् यद्यपि यस सम्बन्धी थप गृहकार्य गर्दै मिडियाको लक्ष्य, उद्देश्य र गन्तव्य जस्ता कुराहरू व्यापक भइसकेपछि हातेमालोको दायरा अझै बढ्न सक्ला । यस विषयमा आगामी दिनमा अझै गहिरो विश्लेषण गर्न सकिने नै छ ।   

सीपीसी प्रचार विभागका उपप्रमुख तथा चाइना मिडिया ग्रुपका अध्यक्ष शन हाइ सियोङले विश्व अशान्ति र रूपान्तरणको नयाँ अवधिमा प्रवेश गरेको बताउँदै चिनियाँ राष्ट्रपतिले प्रस्ताव गरेको विश्वव्यापी शासन पहलले विश्वव्यापी दक्षिणी देशहरूको सबैभन्दा जरुरी आवश्यकताहरूलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्ने आश्वासन दिए । विश्वव्यापी शासनमा मिडियाको जिम्मेवारीबोध गर्न अन्तर्राष्ट्रिय मिडिया समकक्षीहरूसँग मिलेर काम गर्न ग्लोबल साउथ मिडिया पार्टनरशिप मेकानिज्म शुरू गरेर व्यावसायिक पत्रकारितालाई कायम राख्ने, प्राविधिक रूपान्तरणलाई अँगाल्ने, संवादका लागि पुल निर्माण गर्ने र विकास सहयोगमा ध्यान केन्द्रित गर्ने सोच रहेको शनले सुनाए ।

विश्वबाट भेला भएका प्रतिनिधिहरूले भनेजस्तै मिडियाले आफ्नो भूमिकालाई बदल्नुपर्ने बेला आएको छ । सामाजिक सञ्जाल नै सूचनालाई आधिकारिता दिने चाबी हुन सक्दैन । कतिपय सूचना सही भएपनि यसको पुनः प्रमाणीकरण गर्नुपर्ने हुन्छ । त्यो प्रमाणीकरण समाचारको ‘लाइसेन्स’ प्राप्त निकायले नै गर्न सक्दछ ।

मिडिया क्षेत्रमा अनेकन विकृतिले गाँज्दै लगेकोतर्फ सर्वत्र चिन्ता त छँदैछ । तर सुशासनका लागि मिडियाको भूमिका र जिम्मेवारी अझै बढ्दो छ । मिडिया वा मिडियाकर्मीले आफूलाई सामाजिक सञ्जालकर्ता भन्दा बढी काँधमा भिरेको कार्डको महिला बुझ्नु अत्यावश्यक भइरहेको छ । अतः पत्रकारिताको कक्षा लिएका व्यक्तिहरूले समतामूलक विश्वव्यापी सञ्चार व्यवस्थापन र सभ्यताहरूबीच पारस्परिक सिकाइलाई अगाडि बढाउने सवालमा बरू हातेमालो गरेर अघि बढ्नुपर्ने समय आएको छ । एकता र सहकार्य नै वर्तमान चुनौतीहरूको सामना गर्ने र अवसरहरू समात्ने एक मात्र तरिका हो ।

नेपालमा पनि सामाजिक सञ्जालको तीब्र विकास तथा सहज पहुँच भइरहेका बेला समाचारका माध्यमहरूको गति धीमा हुँदै गएको छ, जब कि यसले थप सशक्त भूमिमा लिनुपर्ने हो ।

सञ्जालमा गलत सूचना, अफवाहहरू फैलिन्छन्, यसको निवारण कसले गरिदिने? अनगिन्ती मिडिया खुलेका छन् तर ‘सर्भाइभ’ अर्थात् टिक्नका लागि अन्टसन्ट लेखेर सतही लाइक, भ्यूजको आत्मरतिमा डुब्नुपर्ने बिडम्बनाले पत्रकारिता कमजोर बन्दै गएको छ । मिडिया खोल्न सजिलो भएकै कारण जसले पनि अनलाइन दर्ता गर्ने तर सामाजिक सञ्जालका प्रयोगकर्ताको हैसियतमा सामग्री उत्पादन गर्नाले समाजमा अझै गलत सन्देश प्रवाह भइरहेको छ । स्थलगत वा खोजी समाचारका लागि जनशक्तिको अभावमा सामाजिक सञ्जालमा लेखेको कुरालाई लिएर मनलाग्दी व्याख्या गर्ने तर सोधीखोजी नगर्ने प्रवृत्तिले पनि पत्रकारिता सञ्जालकारितामा रुपान्तरण हुन थालेको छ ।

न्यू मिडियाको बिग्बिगी भएपछि कुनै बेला राज्यको प्रमुख प्रतिपक्षी जस्तो ठानिने मिडियाहरू मुर्झाउँदै गएको आभाष हुन थालेको छ । उपभोक्ताहरुले सूचना फिल्टर गरेर ‘क्रसचेक’ गर्ने झन्झट बोकिराख्दैनन् । मिडिया साक्षरताको लागि पहल गर्नु अझै वाञ्छनीय भएको छ । तर केही बोल्नुपर्ला कि भनेर ‘कन्टेन्ट परहेज’ गर्ने हो भने पत्रकारिताका अगुवाहरूले कुनै दिन पत्रकारिताको निर्मम हत्या भइरहेको दृष्यको साक्षी बन्नुपर्ने हुनसक्छ ।

तपाईको प्रतिक्रिया