ओझेलमा छ सुन्दरताले भरिपूर्ण दिज गाउँ

  १४ घण्टा अगाडि

ढोरपाटन (बागलुङ), ९ भदौ : वरिपरि घना जङ्गल । छेउमै सुसाउने उत्तरगङ्गा नदी । नदी किनारमा छ दिज गाउँ । काठै काठले सजाइएका घर र गाउँले जनजीवन । यही दृश्यले आकर्षित गरिरहेको छ आगन्तुकलाई ।

जोडिएर बनेका काठका मौलिक घर र स्थानीयको रहनसहन अझ चाखलाग्दो छ । ढोरपाटन उपत्यकाभन्दा केही पर रहेको दिज गाउँ पर्यटनको सम्भावना भए पनि बत्ति मुनीको अँध्यारो बनेको छ ।

गाउँको मौलिक संस्कृति, भेषभूषा र रहनसहनले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गर्छ । तर विकास र प्रचारप्रसार अभावमा यो गाउँ ओझेलमै छ । ढोरपाटन नगरपालिका–९ स्थित दिज गाउँ प्राकृतिक सुन्दरताले भरिएको छ । ढोरपाटन–निसेलढोर सडक खण्डको पारी पट्टी रहेको दिज गाउँमा विस्तारै विकासले गति लिन थालेको छ । तर प्रचारप्रसार कत्ति पनि हुन सकेको छैन । प्रकृति र मौलिकतासँग साइनो गाँस्न चाहनेका लागि त योभन्दा अरु गन्तव्य बिरलै छन् ।

गाउँको मौलिकता र सुन्दरतालाई बाहिर प्रचार गर्न नसक्दा आगन्तुक दिज गाउँ पुग्न नसकेको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले बताउनुभयो । लामो समयसम्म स्वास्थ्य, शिक्षा, खानेपानी र विद्युत्लगायतका पूर्वाधार नजोडिएको यस गाउँमा स्थानीय सरकार आएपछि विस्तारै विकास हुन थालेको उहाँको भनाइ छ ।

दिजलाई पर्यटकीय गाउँ बनाउनका लागि नगरपालिकाले नीति बनाएर काम सुरु गरेको अध्यक्ष घर्ती मगर बताउनुहुन्छ । “यो पर्यटनका लागि भर्जिन गाउँ हो, पर्यटकसँग जोड्न नगरपालिकाले नीति बनाउँदै छ, गाउँलाई घरबास (होमस्टे)का रूपमा विकास गर्ने र स्थानीयलाई आय आर्जनसँग जोड्ने प्रयास गरिरहेका छौँ,” अध्यक्ष घर्तीमगरले भन्नुभयो, “स्थानीय उत्पादनलाई बढाउने र बजारीकरणलाई ध्यान दिएका छौँ ।”

दिज गाउँमा अहिलेसम्म सडक पुगेको छैन । स्थानीयले बजारबाट बोकेरै उपभोग्य सामान ढुवानी गर्नुपर्ने बाध्यता छ । ढोरपाटन सिकार आरक्षले अवरोध गर्दा गाउँमा सडक नजोडिएको स्थानीय बताउँछन् । यो गाउँमा अहिलेसम्म काठैकाठका बाहेक अन्य वस्तुले बनेका घर छैनन् । विस्तारै विकासले गति लिन थालेको स्थानीय मनबहादुर घर्तीले बताउनुभयो । पहिलेदेखिनै समय–समयमा फाट्टफुट्ट पर्यटक आउने गरे पनि धेरै सङ्ख्यामा भित्र्याउन नसकेको उहाँको भनाइ छ ।

यस क्षेत्रमा हिउँदको बेला बढी चिसो हुने हुँदा बर्खाको समयमा पर्यटक आउने गर्छन् । पछिल्लो समय निसेलढोर जाने पर्यटक दिज गाउँ पस्ने गरेका छन् । गर्मी छल्न ढोरपाटन आउने पर्यटक घुम्दैफिर्दै दिज गाउँ आउने गरेका छन् । गाउँमा आइपुग्न उत्तरगङ्गा नदीमा काठे साँघु बनाइएको छ । यो पुल हेर्नका लागि पनि पर्यटक दिज आउने गर्छन् । गाउँ निकै सुन्दर भए पनि बास बस्न व्यवस्थित ठाउँ नहुँदा ढोरपाटनमै आउनु परेको भैरहवादेखि आउनुभएका कुशलराज बेलवासेले बताउनुभयो ।

“हाम्रो नेपालमा पनि यति सुन्दर ठाउँ छन्, तर यी ठाउँमा अहिलेसम्म विकास नपुग्दा ओझेलमा परेका छन्, मलाइ त ढोरपाटनभन्दा दिज गाउँ धेरै राम्रो लाग्यो तर बस्नका लागि समस्या रैछ,” उहाँले भन्नुभयो, “राज्यले सडकलगायत अन्य पूर्वाधार विकास गरेमा भविष्यमा पर्यटकीय सम्भावना छ, गाउँका नागरिकलाई शिक्षित र व्यावसायिक बनाउनु पर्ने जरुरी देखियो, यहाँ आउँदा साँच्चिकै गाउँघरमा आएको महशुस भयो ।”
(रासस)

तपाईको प्रतिक्रिया