काठमाडौँ, २१ साउनः प्रतिनिधिसभाको आजको बैठकमा सांसद मनिष झाले भाषा आयोगमा अर्कै कृष्णप्रसाद न्यौपानेले तीन वर्षदेखि काम गरिरहेको समाचारले देश कसरी चलिरहेको छ भन्ने प्रष्ट हुने बताउनुभएको छ ।
बैठकको आकस्मिक समयमा उहाँले संवैधानिक नियुक्तिसमेतमा यति लापरबाही हुनुले देश कसरी चलिरहेको छ भन्ने स्पष्ट हुने बताउनुभयो । भिजिट भिसा प्रतिवेदनको पेज नं ४६ मा लेखिएको ‘मानव बेचबिखन’ शब्द उल्लेख गर्दै सांसद झाले त्यसमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो ।
‘कुलिङ अफ पिरियड’का विषयमा राज्य व्यवस्था समितिका सभापतिलाई नैतिकताको प्रश्न भएकाले उहाँले राजीनामा दिनुपर्ने उहाँको भनाइ छ । सांसद रोशन कार्कीले भिजिट भिसाका नाममा नेपालीलाई मार्ने काम भएको भन्दै यसको विरोधमा संसद्को चौथो र पाँचौँ दल लागेको बताउनुभयो । संसद्मा एउटै सांसद उठे पनि सम्बोधन गर्नुपर्नेमा दुई दलले लामो समयदेखि विरोध गरिरहँदा पनि सम्बोधन नहुनुले संसद् सरकारप्रति मात्र उत्तरदायी भइरहेको देखिएको उहाँको भनाइ छ ।
भिजिट भिसाका नाममा नेपालीलाई विदेशमा लगेर बेच्ने काम भएको भदै उहाँले यस्ता काम बन्द गर्न पनि माग गर्नुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज पनि प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् ।
सभामुख देवराज घिमिरेले आजको बैठक सुरु गर्ने बित्तिकै रास्वपा र राप्रपाका सांसद उठेर विरोध जनाएपछि सभामुख घिमिरेले रास्वपाका सांसद झा र राप्रपाकी सांसद कार्कीलाई आकस्मिक समय पारेर बोल्न समय दिनुभएको थियो । सांसद झा र कार्कीले बोलिसकेपछि दुबै दलका सांसद बैठक स्थलबाट बाहिरिएका राससले जनाएको छ।