जनकपुरधाम, २० साउन : जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले यस वर्ष हालसम्ममा २२ करोड ८८ लाख ६६ हजार मूल्य बराबरको करिब १७ लाख ७० हजार थान पुस्तक बिक्री गरेको छ । यस वर्ष वैशाखदेखि असारसम्ममा सो परिमाणमा किताब बिक्री–वितरण भएका हुन् ।
यस वर्ष शैक्षिकसत्र सुरु हुनुअगाडि पाठ्यपुस्तक उपलब्ध भएका कारण बिक्री–वितरण बढी भएको कार्यालय प्रमुख रुद्रमणि खनालले जानकारी दिनुभयो । शैक्षिक वर्ष २०८२ मा रु २५ करोड मूल्यका २३ लाख ७० हजार थान पुस्तक बिक्री–वितरण गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । विद्यालयलाई तोकिएका विभिन्न ८६ वितरकका माध्यमबाट पाठ्यपुस्तक बिक्री–वितरण गरिँदै आएको छ ।
जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालयबाट ओखलढुङ्गा, खोटाङ, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर, सिन्धुली, सिरहा, सर्लाही, रौतहट, पर्सा, बारालगायत जिल्लामा पाठयपुस्तक बिक्री–वितरण गरिँदै आएको छ ।
“विगतमा पुस्तक छपाइमा ढिलाइ हुने गरेकाले अध्ययन–अध्यापनमा समस्या हुने गरेको थियो,” प्रमुख खनालले भन्नुभयो, “अब त्यो समस्या हटेको छ ।”
कार्यालयले गत वर्ष रु २३ करोड ३० लाख मूल्य बराबरको किताब बिक्री गरेको थियो । कार्यालय प्रमुख खनालका अनुसार शैक्षिक सत्र २०८२ मा कार्यालयले कक्षा १ देखि कक्षा १२ सम्मका लागि १७ लाख ७० हजार थान पाठ्यपुस्तक बिक्री गरेको थियो । जनक शिक्षा सामग्री केन्द्रले कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई पूर्णरुपमा पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराउने गरेको छ भने कक्षा ११ तथा कक्षा १२ का अनिवार्य विषय अङ्ग्रेजी, नेपाली र सामाजिक विषयको पाठ्यपुस्तक विद्यार्थी आपैmले खरिद गर्नुपर्ने प्रावधान छ । तोकिएका बिक्रेताबाट विद्यालयले पाठ्यपुस्तक खरिद गर्ने तथा सोको भुक्तानी सम्बन्धित स्थानीय तहले दिँदै आएको छ ।