मोरङ, १४ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिनुभयो ।
कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु सामान्य प्रक्रिया भएअनुसार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग आफ्नो छलफल भएको स्पष्ट पार्नुभयो । नेता कोइरालाले भन्नुभयो, “राजनीति गर्ने व्यक्तिमा नैतिकता हुनु जरुरी हुन्छ अन्यथा राजनीति धराप पर्छ ।”
उहाँले नेपालको संविधानले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई पुनः राजनीतिमा आउन नरोकेको बताउँदै तर आफ्नो विचारमा राजनीतिमा नफर्केको राम्रो हुने धारणा राख्नुभयो ।
गठबन्धन सरकार निर्माणको क्रममा भएको सात बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । एक प्रश्नको जवाफमा नेता डा कोइरालाले कांग्रेसमा अहिले संसदीय दलको नेता परिवर्तन हुने कुनै सम्भावना नरहेको बताउनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले कांग्रेसको महाधिवेशन तोकिएको समय विसं २०८२ मा हुने विचार राख्नुभयो ।