भ्रष्टाचार विरुद्ध युवाका लागि रबिन्द्र मिश्रका यस्ता टिप्स

  ७ घण्टा अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपका नेता रबिन्द्र मिश्रले भ्रष्टाचार विरुद्ध युवाले गर्नैपर्ने काम भन्दै सामाजिक सञ्जालमार्फत् टिप्स प्रस्तुत गरेका छन् । उनले आफ्नो पार्टी राप्रपाले भ्रष्टाचारका विरुद्ध ‘अख्तियार’ र ‘सम्पत्ति शुद्धिकरण’ गुहारेकाले त्यो गज्जब भएको बताएका छन् । अनि अरूले पनि यसैगरी दबाब दिनुपर्ने धारणा राखेका छन् ।

‘जबसम्म राजनीतिलाई संवैधानिक/कानूनी रूपमैँ संवैधानिक निकाय तथा कर्मचारीतन्त्रबाट अलग गर्न सक्दैनौँ, भ्रष्टाचार नियन्त्रणको हाम्रो प्रयास बालुवामा पानी हाले सरह हुनेछ’, उनले भने, ‘तर त्यो कार्य सहज छैन। संवैधानिक र कानूनी प्रावधान बाहेक, म पहिले, पहिले भ्रष्टाचार विरोधी युवा भेलाहरूमा जाँदा उठाउने गरेका केही बुँदा यहाँ उल्लेख गर्न चाहन्छु ।’

युवाहरूले साँच्चै भ्रष्टाचार नियन्त्रण होस् भन्ने चाहने हो भने हरेक युवाले आफ्ना आमाबाबुलाई सोध्नुपर्यो भन्दै उनले दिएका सुझाव यस्ता छन्,

१। तपाईँको नियमित आम्दानी ‘यति’ छ तर यत्रो सम्पत्ति कसरी जोड्नुभयो?

२। यस्ता सानदार मोटर/ड्राइभर कसरी संभव भयो?

३। तपाईँको यति उच्च नियमित खर्च कसरी धानिरहनु भएको छ?

४। मलाई यत्रो खर्च गरेर कसरी पढाइ रहनु भएको छ?

५।  भ्रष्टाचार नगरी यो संभव नै हुँदन। आफ्नो मात्र होइन, हाम्रो नाकमा समेत किन कालो दल्नु हुन्छ?

६। यस्तो कुकर्म तुरून्त रोक्नुस् नत्र मेरो आँखामा पनि तपाईँ गिर्नु हुनेछ।

माथिका बुँदा सुन्दा आदर्शवादी लाग्ला। त्यति नगर्ने हो भने ती युवाले सामाजिक सञ्जालमा भ्रष्टाचार विरुद्ध आगो ओकल्नुको कुनै अर्थ छैन।

तपाईको प्रतिक्रिया