पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण गरेको तुनह्वाङको नेपाल साइनो  

  जेठ २९, २०८२

मे अन्तिम सातातिर चीनको भ्रमण गरेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी कान्सु प्रान्तको उत्तरपश्चिममा रहेको तुन ह्वाङ मोकाउ गुफा पुगेकी थिइन् । चीनका विभिन्न ठाउँमा आफ्ना शानदार सम्पदा देखाउने चिनियाँ संस्कृति नै बनेको छ । तर यसपटक भण्डारीले भ्रमण गरेको गुफा र नेपालको लुम्बिनीबीच गहिरो सम्बन्ध छ । तर त्यसअघि मोकाउ गुफाका बारेमा संक्षिप्त जानकारीः

करीब २ हजार वर्ष भन्दा लामो इतिहास बोकेको तुन ह्वाङ एउटा हट पर्यटकीय गन्तव्यको रुपमा विकसित भएको छ । अनेकन गुफाहरूका कारण यो परिचित छ । गोबी मरुभूमिको विशाल भूमिका कारण तुनह्वाङलाई शा चौउ अर्थात् बालुवाको सहर भनेर चिनिन्छ । तर पछि सम्राट वू, पश्चिमी हान राजवंशको अवधिमा यो सानो सहरलाई बाह्य आक्रमणबाट बचाउन एक महत्त्वपूर्ण सीमा रक्षाको रुपमा विकसित गरियो।

त्यसबेलादेखि तुनह्वाङले चिनियाँ इतिहासमा गहिरो भूमिका खेलेको छ, पश्चिमी क्षेत्रहरूमा रणनीतिक प्रवेशद्वारको रुपमा यसले विभिन्न संस्कृतिबीचको सम्पर्क, व्यापार, आदानप्रदानलाई प्रश्रय दियो ।

धेरै पहिले यहाँ पर्यटक र व्यापारीहरूले यात्रा गर्थे । यहाँका गुफाका भित्ताहरूमा भारतीय, चीन, ग्रीस र इस्लामको बारेमा कथाहरू वर्णन गरिएका छन्।

अद्भूत बौद्ध कला र विशेष जातीय रीतिरिवाजहरूको कारण यो आकर्षक गन्तव्य बन्दै गएको छ । चारै ऋतुमा सुन्दर रहने यो गुफामा वसन्त र शरद ऋतुमा यात्रा गर्नु सबैभन्दा राम्रो मानिन्छ । वसन्त ऋतुमा मरुभूमि हरियो हुन्छ भने शरद ऋतुमा आकाश सफा हुन्छ र मिङशा पर्वतमा बालुवामा स्कीइङ गर्न मिल्छ । गर्मीमा ताराहरू हेर्न पाइन्छ भने  जाडोमा  हिउँको आनन्द लिन सकिन्छ । सिल्क रोडको प्राचीन मार्ग भएकाले यहाँको बाटोमा इतिहास पर्गेल्न पाइन्छ ।

तेह्रौँ शताब्दीमा जब नेपाली कलाकार अरनिको चीनमा आए त्यतिखेरको युआन राजवंशले पश्चिमी सिया राज्यलाई जितेपछि १२७७ मा शाचौउ पुन: स्थापित भएको थियो। १२८० मा यसलाई शाचौ मार्गको सामान्य प्रशासनमा बढुवा गरिएको थियो । सन् १९८७ मा यसलाई युनेस्कोले विश्व सांस्कृतिक सम्पदाको रूपमा सूचीबद्ध गरेको थियो।

तुन ह्वाङ र नेपालबीच भगिनी सहर सम्बन्ध  

१९ नोभेम्बर २०२४ मा युन नान प्रान्तको खुनमिङ सहरमा चीन अन्तर्राष्ट्रिय मैत्री सहर सम्मेलन आयोजित भयो । त्यस क्रममा तुनह्वाङ र नेपालको लुम्बिनीले आधिकारिक रूपमा मैत्री (भगिनी) सहर सम्झौतामा हस्ताक्षर गरेका थिए ।

सन् २०१९ को मे महिनामा कान्सु प्रान्तीय सरकारको एक प्रतिनिधिमण्डलले नेपालको भ्रमण गरेको थियो । तुन ह्वाङ सहर र लुम्बिनी सांस्कृतिक सहरले मैत्रीपूर्ण र सहयोग सम्बन्ध स्थापित गरेपछि अहिले पारस्परिक समझदारी र विश्वासलाई गहिरो बनाउन, संस्कृति, पर्यटन, सम्पदा संरक्षण, कृषि आदि क्षेत्रमा आदानप्रदान बढाउन एकअर्कामा भ्रमण प्रतिनिधिमण्डल पठाउने गरेका छन् ।

दुबै सहरबीच भगिनी सम्बन्ध स्थापना सम्बन्धी संयुक्त विज्ञप्तिको सिद्धान्त अनुसार मैत्रीपूर्ण सहयोगलाई सुदृढ र विकास गर्ने तथा चिनियाँ र नेपाली जनताबीच पारस्परिक समझदारी र मित्रता बढाउने उद्देश्यले परामर्श मार्फत दुई पक्षबीच भगिनी सहर सम्बन्ध स्थापना गर्ने सम्झौतामा भएको थियो । दुवै पक्ष समानता र पारस्परिक लाभको आधारमा आर्थिक, व्यापारिक सांस्कृतिक वातावरण संरक्षण लगायतका क्षेत्रमा पारस्परिक आदानप्रदान र सहयोगलाई प्रवर्द्धन गर्न सहमत भएका हुन् ।  

यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू भएको छ भने पाँच  वर्षसम्म यो क्रियाशील रहनेछ। यो सम्झौताको म्याद सकिनुभन्दा कम्तिमा छ महिनाअघि कुनै पक्षले सम्झौता अन्त्य गर्ने सूचना नदिएसम्म यो सम्झौता स्वतः अर्को पाँच वर्षको अवधिको लागि विस्तार गरिने भन्ने कुरा सम्झौतामा उल्लेख छ ।

हालसम्म तुनह्वाङले जापान, दक्षिण कोरिया, बेलारुस, स्वीडेन, भारत र नेपाल लगायत छ देशका आठ सहरहरूसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण सहर सम्बन्ध स्थापना गरिसकेको छ ।

लुम्बिनी सांस्कृतिक सहर दक्षिणी नेपालको लुम्बिनी प्रान्तमा अवस्थित छ । यसले ११२.२१ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ र लगभग ७५,००० जनसंख्या छ । यसको मुख्य उद्योगहरू कृषि र पर्यटन हुन्। लुम्बिनी सांस्कृतिक सहर एक विश्व प्रसिद्ध बौद्ध पवित्र स्थल हो, जसलाई बुद्धको गृहनगर भनेर चिनिन्छ। यसलाई १९९७ मा युनेस्कोले विश्व सांस्कृतिक सम्पदा सूचीमा सूचीबद्ध गरेको थियो ।

द पेपरका अनुसार सन् २०२४ मा चीन अन्तर्राष्ट्रिय मैत्री सहर सम्मेलन युननान प्रान्तको खुनमिङमा सम्पन्न भयो। त्यतिखेर आयोजित मैत्री सहर र सहयोग परियोजनाहरूको लागि हस्ताक्षर समारोहमा चीनले ८ जोडी मैत्री सहरहरू थपेको थियो । हालसम्म चीनले विश्वका १४७ देसहरूसँग ३ हजार ०५४ वटा भगिनी सहर सम्बन्ध स्थापना गरिसकेको छ।

चाइना डेलीका अनुसार सन् १९७३ मा पहिलो पटक चीन-विदेशी भगिनी सहरहरू सम्बन्ध स्थापना भएदेखि चीनका ३१ प्रान्त, स्वायत्त क्षेत्र, नगरपालिका र ५४३ सहरहरूले १४७ देशका ६०२ प्रान्त र राज्यहरू र १,८७१ सहरहरूसँग ३,०५४ जोडी भगिनी सहर सम्बन्ध स्थापित गरेको छ जसले पाँच महादेशहरूमा अन्तर्राष्ट्रिय मित्र सर्कल र साझेदारी नेटवर्क स्थापना गरेको छ।

तपाईको प्रतिक्रिया