कास्की, २२ वैशाख : पोखरामा सञ्चालन भएको प्रथम संस्करणको लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको उपाधि इरानी टोलीले जितेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आज सम्पन्न फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३-१ सेटमा हराउँदै इरानी टोली च्याम्पियन बनेको हो ।
पहिलो सेट २५-१८ ले आफ्नो पक्षमा पारेको इरानी टोलीले दोस्रो सेट २४-२६ ले गुमाएको थियो । तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै इरानी टोलीले उपाधिसहित रु चार लाख ४४ हजार ४४४ तथा ट्रफी प्राप्त गरेको हो । उपविजेता बनेको पुलिसले रु दुई लाख ४४ हजार ४४४ प्राप्त गरेको छ ।
यसअघि सशस्त्र प्रहरी बल (एपिएफ) लाई ३-१ को सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको थियो । पहिलो सेट २९-२७ र दोस्रो सेट २५-२१ ले आफ्नो पक्षमा पारेको आर्मीले तेस्रो सेट एपिएफलाई सुम्पिएको थियो । तेस्रो सेट २२-२५ ले गुमाएको आर्मीले चौथो सेट २५-२३ ले जित निकाल्दै तेस्रो भएको हो । प्रतियोगितामा तेस्रो भएको आर्मीले रु एक लाख ४४ हजार ४४४ पुरस्कार प्राप्त गरेको छ ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालले राष्ट्रिय खेल भलिबलको विकास गर्दै युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित यही वैशाख १८ गतेदेखि प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा दुई विदेशीसहित छ टोलीको सहभागिता थियो ।