
बेइजिङ, २३ फागुन : चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले ‘ग्लोबल साउथ’ अर्थात् विश्व दक्षिण नै अन्तर्राष्ट्रिय शान्ति कायम राख्न, विश्व विकासलाई प्रवर्द्धन गर्न र विश्वव्यापी शासन सुधार गर्न एक महत्त्वपूर्ण शक्ति बन्ने बताएका छन्।
मार्च ४ र ५ तारिखदेखि बेइजिङस्थित ग्रेट हल अफ द पिपुल्समा चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) र चिनियाँ जनकाङ्ग्रेस (एनपीसी) चलिरहेको सन्दर्भमा मार्च ७ तारिख उनले १४औं राष्ट्रिय जन कांग्रेसको तेस्रो पूर्ण सत्रमा कूटनीतिक मुद्दाहरूबारे आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राखेका हुन्। मन्त्री वाङ यीले पत्रकारहरूको प्रश्नको जवाफ दिँदै आजको ग्लोबल साउथ विश्वलाई स्थिर र सुधार गर्ने कुञ्जी भएको टिप्पणी गरे।
वाङ यीले चीन ग्लोबल साउथको एक प्राकृतिक सदस्य भएकोमा जोड दिए। उनले भने, ‘अन्तर्राष्ट्रिय परिस्थिति जतिसुकै परिवर्तन भएपनि चीनले सधैं ग्लोबल साउथलाई ध्यानमा राख्नेछ, ग्लोबल साउथमा जरा गाड्नेछ र मानव विकासको इतिहासमा नयाँ अध्याय लेख्न ग्लोबल साउथका अन्य देशहरूसँग मिलेर काम गर्नेछ।’
चिनियाँ जनताले कहिल्यै समस्या निम्त्याउँदैनन् भन्दै उनले चिनियाँ जनता समस्यासँग नडराउने पनि दाबी गरे। उनले भने, ‘कुनै पनि चरम दबाब, धम्की वा ब्ल्याकमेलले १.४ अर्ब चिनियाँ जनताको संयुक्त इच्छाशक्तिलाई हल्लाउन सक्दैन, न त यसले चिनियाँ राष्ट्रको महान् पुनरुत्थानतर्फको ऐतिहासिक कदमलाई रोक्न सक्छ।’
वाङ यीले आजको संसार परिवर्तन र अराजकताले भरिएको र निश्चितता दुर्लभ स्रोत बन्दै गएको कुरा औंल्याए। चिनियाँ कूटनीति इतिहास र मानव प्रगतिको सही पक्षमा दृढतापूर्वक उभिने भन्दै उनले चीनको निश्चितताले अनिश्चित संसारलाई स्थिर बनाउने, चीनले उच्चस्तरीय खुलापन विस्तार गर्न जारी राख्ने र अन्य देशहरूसँग चिनियाँ शैलीको आधुनिकीकरणका विशाल अवसरहरू साझा गर्ने बताए।
वाङ यीका अनुसार चीनले बहुपक्षीय स्वतन्त्र व्यापार प्रणालीलाई निरन्तरता दिनेछ, खुला, समावेशी र भेदभावरहित अन्तर्राष्ट्रिय सहयोग वातावरण सिर्जना गर्नेछ र समावेशी आर्थिक विश्वव्यापीकरणलाई प्रवर्द्धन गर्नेछ।






