सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तार

  जेठ २८, २०८१

सुदूरपश्चिम, २८ जेठ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आज मौजुदा मन्त्रिपरिषद् विस्तार तथा कार्यविभाजन गर्नुभएको छ ।

नेपालको संविधानको धारा १६८को उपधरा (९)बमोजिम गरिएको नियुक्ति र कार्यविभाजनअनुसार सुरेन्द्रबहादुर पाल आर्थिक मामिला मन्त्रीमा र ओमविक्रम भाट सामाजिक विकास मन्त्रीमा नियुक्त हुनुभएको छ ।

यसैगरी अक्कलबहादुर रावल, वीरबहादुर थापा, लक्ष्मी विक, माया पन्त र हीरा सार्की विनाविभागीय मन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख मियाँले नवनियुक्त मन्त्रीलाई आजै पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

मुख्यमन्त्री सोडारीले आन्तरिक मामिला तथा कानुन, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय आफैँसँग राख्नुभएको छ । भौतिक पूर्वाधार विकास मन्त्रीमा कैलाश चौधरी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा टीका थापा पहिले नै नियुक्त हुनुभएको थियो ।

आर्थिक मामिला मन्त्रीमा नियुक्त पाल तथा विनाविभागीय मन्त्रीमा नियुक्त थापा र सार्की नेकपा (एमाले), समाजिक विकास मन्त्रीमा नियुक्त भाट, विनाविभागीय मन्त्रीमा नियुक्त रावल र विक नेकपा (माओवादी केन्द्र) तथा विनाविभागीय मन्त्री माया पन्त नेकपा (एकीकृत समाजवादी) का तर्फबाट नियुक्त हुनुभएको हो ।

भौतिक पूर्वाधारमन्त्री चौधरी र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री थापा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर हुनुहुन्छ । उक्त पार्टीका अन्य पाँच सदस्य भने प्रतिपक्षीको भूमिकामा हुनुहुन्छ ।

स्वतन्त्र प्रदेश सभा सदस्य डा. ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भनिए पनि उहाँले मन्त्री धेरै भएको र मन्त्रालय फुटाइनु ठिक नहुने भन्दै शपथग्रहण गर्न तयार हुनु भएन ।

एकीकृत समाजवादी दलका नेता समेत रहनु भएका मुख्यमन्त्री सोडारीले सहमतिमा भौतिक पूर्वाधार, सामाजिक विकास, भूमि व्यवस्था, कृषि तथा सहकारी र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय टुक्र्याउने तयारी गर्नुभएको छ । सुदूरपश्चिममा विगतमा सात मन्त्री र चार राज्यमन्त्रीसम्म बनाउने गरिएको थियो ।

डा. जोशीले शपथग्रहण नगरेपछि उद्योग, पर्यटन, वन तथा वातावरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सोडारीले आफै लिनुभएको छ ।

मुख्यमन्त्री सोडारीले शपथग्रहण कार्यक्रमपछि संक्षिप्त प्रतिक्रिया दिँदै अब सरकारलाई काम गर्न सहज हुने बताउनुभयो । शपथग्रहण कार्यक्रममा मुख्यमन्त्री सोडारी, सभामुख भीमबहादुर भण्डारी, मन्त्रीहरू, पूर्व मुख्यमन्त्रीहरू, अन्य सदस्यहरूको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया