भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

  जेठ १३, २०८१

काठमाडौँ, १३ जेठ : भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ ।

२०६८ असोज ६ गते प्रदर्शन भइसकेको चलचित्रलाई पुनः सम्पादन गरी असार ७ मा प्रदर्शन गरिने स्वर्गीय गायक आचार्यका छोरा सत्यराज आचार्यले राससलाई जानकारी दिनुभयो । पुनः प्रदर्शनलाई लक्षित गर्दै चलचित्रको नयाँ प्रचार सामग्रीको रूपमा इन्टरनेटमा श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गरिएको छ ।

“यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ”, गायक आचार्यले भन्नुभयो ।

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा हुनुहुन्छ । चलचित्रमा स्वर्गीय गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उहाँले बताउनुभयो । निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायत कलाकारले अभिनय गर्नुभएको छ ।

गायक तथा अभिनेता आचार्यले सार्वजनिक श्रव्यदृश्यले राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सायद १३ वर्ष अगाडिको समय यस्ता चलचित्रको लागि उपयुक्त थिएन । त्यो समयमा पनि हामीले चलेका अनुहारभन्दा अभिनय गर्न सक्ने कलाकारलाई लिएका थियौँ । चलचित्रलाई जीवन्त बनाउने पूर्ण कोसिस गरेका छौँ ।” गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

‘द पोएट आइडल’को उपाधि सिक्किमका राईलाई
यसैबीच, कवितामा आधारित रियालिटी शो ‘द पोएट आइडल’को दोस्रो शृङ्खलाको उपाधि सिक्किमका सिमियोन सुकिता राईले जित्नुभएको छ । शनिबार बेलुकी भएको अन्तिम प्रतिस्पर्धामा मुस्कान पोखरेल, विजय लुइँटेल र मोहित जोशीलाई पछाडि पार्दै राईले उपाधि जित्नुभएको हो ।

“आज मसँगै मलाई विश्वास गर्ने सबैको जित भएको छ । मलाई यो मञ्चसम्म ल्याउन धेरै सहयोगी हातले हातेमालो गर्नुभएको छ । मेरो कविता यात्रालाई दिगो बनाउन यो उपाधि मार्गदर्शक भएको छ”, विजेता राईले भन्नुभयो । ‘द पोएट आइडल’को दोस्रो शृङ्खलामा उपेन्द्र सुब्बा, विप्लव प्रतीक, अनुप बराल र केकी अधिकारी निर्णायक हुनुहुन्थ्यो ।

तपाईको प्रतिक्रिया