काठमाडौँ, ५ मङ्सिर : युरोपेली र नेपाली चलचित्रको संगम बनेको १५ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव (इयुएफएफ) नेपाल शनिबारदेखि काठमाडौँमा सुरु भएको छ ।
नेपालस्थित युरोपेली सङ्घको आयोजनामा ठमेलस्थित छाया सेन्टरमा दुई दिन चल्ने महोत्सवमा ११ देशका २९ चलचित्र प्रदर्शन गरिनेछ । महोत्सवमा युरोपेली कथानक चलचित्र, बाफ्टा मनोनयनमा परेका लघु चलचित्र तथा नेपाली विद्यार्थी र एनिमेटेड चलचित्र समावेश छन् ।
काठमाडौँपछि मङ्सिर १२ र १३ गते जनकपुरमा पनि महोत्सव आयोजना हुनेछ । महोत्सवले नेपाली र युरोपेली चलचित्रकर्मीबीच सांस्कृतिक आदानप्रदान, संवाद र सिर्जनात्मक सहकार्यलाई प्रोत्साहन गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।






