थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा

  जेठ १२, २०८१

रसुवा, १२ जेठ : रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउन थाम्बुचेत–काठमाडौँ राष्ट्रिय प्रसारण लाइन एवं टावर निर्माण ९६ प्रतिशत पूरा भएको जनाइएको छ ।

उत्तरी रसुवाको साङ्जेन र रसुवागढीलगायत आसपासका सबै आयोजनाबाट उत्पादित विद्युत् व्यवस्थापन गर्न आमाछोदिङ्मो गाउँपालिका वडा नं ४ थाम्वुचेतमा विद्युत् हव र थाम्वुचेतदेखि हाकु, डाँडागाउँ, ठूलोगाउँ त्रिशुली हुँदै काठमाडौँसम्मको राष्ट्रिय प्रसारण लाइन निर्माण अघि बढाइएको हो ।

राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत रसुवागढी जलविद्युत् आयोजनाको एक सय ११ मेगावाट, तल्लो साञ्जेनको ४२ दशमलव पाँच र माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पु¥याउन लागिएको हो ।

भौगोलिक विकटता भएको हाकु क्षेत्रको तिरू इलाकाका लागि आवश्यक सामग्रीलगायतका सबै उपकारण ढुवानी भइसकेको नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय प्रसारण महाशाखा प्रमुख थर्कबहादुर थापाले बताउनुभयो । उहाँले अबको एक महिनाभित्र निर्माण सम्पन्न हुने बताउनुभयो ।

रसुवाका डाँडापाखामा टावरको काम गराई रहनुभएका आयोजना प्रमुख शुभारम्भ विक्रम शाहका अनुसार ७६ वटा टावरमध्ये ६७ वटाको निर्माण पूरा भइसकेको छ । उहाँले ७२ किलोमिटर तार तान्नुपर्नेमा ४१ किलोमिटर पूरा भइसकेको जानकारी दिनुभयो ।

निर्माण सामग्री हेलिकप्टर, खच्चर तथा मानिसद्वारा निर्माणस्थलमा पु-याइएको छ । थाम्वुचेतस्थित विद्युत् जडान गर्ने मुख्य स्थानमा उपकरण जडान भई परीक्षण अगाडि बढिसकेको, आवास र पाले पहरा तथा प्राविधिक बस्ने, कार्यालय भवनजस्ता पूर्वाधारको संरचना निर्माणको प्रगति अन्तिम चरणमा पुगेको जनाइएको छ ।

हाल रसुवागढी जलविद्युत् आयोजनाले तयार गरेको एक सय ११ मेगावाट बिजुली खेर गएको छ । उक्त आयोजनले विद्युत् गृहका सबै उपकरण जडान गरी प्रसारण लाइनको प्रतीक्षारत रहेको प्राविधिकले जानकारी दिएका छन् ।

साञ्जेन जलविद्युत् आयोजनाले भने उपकरण जडानको काम गरिरहेको र जडान कार्य सम्पन्न गर्न अब एक महिना लाग्ने जनाएको छ । आयोजनका वातावरणविज्ञ उमेश पाठकले टावर र प्रसारण लाइन निर्माण सम्पन्न नभएका कारण जडान कार्य विस्तारै अगाडि बढेको हो ।

आयोजना सम्पन्न गर्न संशोधित लागत अनुमान रसुवागढीका लागि लागत रु १८ अर्ब ४७ करोड र साङ्जेनका दुई आयोजनाका लागि रु साढे १८ अर्ब खर्च हुने आकलन गरिएको छ ।

रसुवागढी जलविद्युत् आयोजनाका पूर्वप्रबन्ध निर्देशक माधवप्रसाद कोइरालाको डिजाइनबाट निर्माण भएको एक सय ११ मेगावाट रसुवागढी आयोजनाले मुहानदेखि विद्युत् गृहसम्म सबै संरचना भूमिगतरूपमा निर्माण गरेको छ भने साङ्जेनको तल्लो र माथिल्लो दुवै आयोजना अर्ध भूमिगत रहेको त्यहाँ कार्यरत प्राविधिकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया